दिनदिन चिसो बढ्दै गइरहेको छ। चिसोसँगै स्वास्थ्य समस्या पनि बढ्ने गर्छ ।चिसोका कारण धेरै मानिसको नाक बन्द हुने, नाकबाट पानी बग्ने, रुघाखाकी, निमोनिया जस्तवा स्वास्थ्य समस्या हुनेगर्छ ।
परिवर्तित मौसममा घुलमिल हुने बेलामा शरीरको रोग प्रतिरोधात्मक क्षमता पनि न्यून हुन्छ । यस्तो बेला विभिन्न भाइरस र ब्याक्टेरिया हाम्रो शरीरमा आक्रमण गर्ने दाउमा हुन्छन् ।चिसो बढेसँगै जाडोसँग सम्बन्धित स्वास्थ्य समस्या लिएर अस्पताल पुग्नेको संख्यामा वृद्धि हुने चिकित्सकहरू बताउँछन्।
चिसोमा रोगहरूबाट बच्न कस्ता कुरामा ख्याल गर्नुपर्छ भन्ने विषयमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निवर्तमान निर्देशक डा. अर्जुन आचार्यसँग गरिएको कुराकानी गरेका छौँ।
१. चिसो बढ्दै गएको छ अस्पतालमा कस्ता बिरामी आइरहेका छन् ?
विगत केही समयदेखि चिसो बढिरहेको छ । चिसो बढेसँगै स्वभाविक रुपमा अस्पतालमा पनि त्यही प्रकृतिका बिरामीको चाप केही बढेको पाइएको छ। अहिले दैनिक १००० देखि ११०० को हाराहारीमा बिरामीहरू आइरहनुभएको छ ।
२. अस्पताल आएका बिरामीमा कस्ता स्वास्थ्य समस्या छन् ?
रुघा, खोकी, घाँटीको समस्या, ब्रोङ्काइटिस् जस्ता समस्या भएका बिरामीहरु आइरहनुभएको छ । सँगसँगै अहिले जाडो भएता पनि झाडापखालाको बिरामी पनि आइरहनुभएको छ । रोटा भाइरसका बिरामी पनि छन्।श्वास-प्रश्वास नलीमा हुने इन्फेक्सनका बिरामी, भाइरलका बिरामी बढिरहेको छन् ।
यो एक हप्ताको आँकडा हेर्दा निमोनियाको बिरामी बढी देखिएको छ । त्यसमा पनि बच्चा, वृद्धवृद्धा र वयस्क सबै उमेर समूहकालाई अहिले निमोनियाले सताएको पाइएको छ ।
३. जाडोमा निमोनियाबाट कसरी बच्ने ?
निमोनियाका कारण बर्सेनी विश्वभरी लाखौँ मानिसको ज्यान जाने गर्छ। नेपालमा पनि हरेक वर्ष हजारौँलाई निमोनियाले सताउने गरेको छ।
विशेषगरी बालबालिका र वृद्ध उमेरकालाई यसले धेरै सताउने गरेको चिकित्सकहरू बताउँछन्। बढ्दो प्रदूषण र खानपानका कारण पनि निमोनिया बढिरहेको बताइन्छ। किटाणुबाट सर्ने भएकाले यसबाट बच्न सावधानी अपनाउनुपर्ने चिकित्सकहरूको सुझाव हुनेगर्छ। जाडो मौसममा निमोनिया बढी फैलने भएकाले चिसोबाट बच्नुपर्नेमा उनीहरू जोड दिन्छन्।
४. बिरामीको चापले अस्पतालमा कुनै समस्या छकि ?
अस्पतालमा देख्दा चाप देखिए पनि अस्पताल प्रशासनलाई सेवा दिनमा कुनै समस्या भएको छैन । किनभने हामीले दैनिक १६/१७ सयसम्म पनि बिरामीहरूलाई थेगिरहेका छौँ । धेरै डाक्टर खटाएर भएपनि बिरामीलाई सेवा दिइ नै रहेका छौँ । बिरामीलाई आवश्यक पर्ने ओढ्ने ओछ्याउने पनि अस्पतालले म्यानेज गरिरहेको छ ।
५. चिसोबाट बच्न के गनुृपर्छ ?
कमजोर रोग प्रतिरोधात्मक क्षमताका कारण जाडोसँग सम्बन्धित विभिन्न रोगले आक्रमण गर्छ । शरीरले तापक्रम वहन गर्न नसक्ने भएकाले जाडोमा अत्याधिक चिसो वा तातोमा स्थानमा नबस्न बिज्ञहरु बताउँछन् । एसीमा बसेर बाहिर निस्किदा शरीरले बाहिरको चिसो मौसमसँग घुलमिल गर्न नसक्ने भएकोले धेरै तापक्रममा नबस्न बिज्ञहरुको सुझाव छ।
जाडोमा धेरैलाई जोर्नी दुख्ने समस्या हुन्छ अधिकांश मानिस यस समस्याबाट पबहीडित हुने गर्छन् । जोर्नी दुख्ने समस्याबाट बच्न पैतलालाई न्यानो बनाउनुपर्छ । एउटा बाक्लो लुगा लगाउन भन्दा पातला दुई वा सो भन्दा बढी कपडा लगाउनु उपयुक्त मानिन्छ । यसले जोर्नीलाई चिसो हुनबाट बचाउँछ । चिसोकै कारण धेरै मानिसलाई ह्यदघात हुनेगर्छ ।
तापक्रममा आएको गिरावटले रक्तनली साँघुरिने र मुटुमा रगत पम्प गर्न गाह्रो हुने हुन्छ । यही जोखिमका कारण विज्ञहरुले मोटा र बृद्धबृद्धालाई यो मौसममा मर्निङ वाक गर्न सुझाव दिँदैनन् । दम, निमोनिया, खोकी, कोल्ड डाइरिया जस्ता जाडोमा देखिने रोगले ज्यानै जान सक्छ ।
खानेकुरामा विशेष विचार पुर्याउनुपर्छ। शरीरमा चिसो र तातोको सन्तुलन मिलाउनुपर्छ । तातोपानी, चिया अथवा कफी खाएर चिसो पानी वा अन्य पेय पदार्थ खानुहुन्न । बाहिर निस्किदा जहिले पनि मास्क लगाउनु उचित मानिन्छ । कमजोर रोग प्रतिरोधात्मक क्षमताका कारण जाडोसँग सम्बन्धित विभिन्न रोगले आक्रमण गर्छ । प्रतिरोधात्मक क्षमता बलियो भएमा चिसोजन्य रोगको संक्रमणबाट मात्र बचाउँदैन । अन्य गम्भीर रोग निम्तिनबाट पनि बच्न सकिन्छ । राम्रो र स्वस्थ खानेकुरा खाएर प्रतिरोधात्मक क्षमता वृद्धि गर्न सकिन्छ ।
प्रतिक्रिया