मुख्यमन्त्री राउत अप्ठेरोमा, रामनारायण र शशिकपुर विच प्रतिस्पर्धा

मधेशपाटी अनलाइन     २०७९ कार्तिक २६, शनिबार ०१:३० बजे मा प्रकासित


वीरगञ्ज । आगामी मंसिर ४ गते हुने निर्वाचनमा मधेस प्रदेशका मुख्यमन्त्री मोहमद लालबाबु राउत पर्सा निर्वाचन क्षेत्र नं. १ को (ख)बाट उमेदवार बनेका छन् । अघिल्लो पटक मधेस केन्द्रित aदलहरुको गठबन्धनबाट निर्वाचन जितेका राउतलाई यसपटक भने चुनाव जित्न हम्मेहम्मे पर्ने देखिन्छ । जनताले उठाएका प्रश्नको जवाफ दिन नसक्ने अवस्थामा पुगेका राउत प्रतिस्पर्धाको तेश्रो नम्वरमा रहेको दावी स्वतन्त्र बुद्धिजिविहरुको छ ।

मधेस आन्दोलनको रापतापमा अघिल्लो पटक चुनाव जितेका मुख्यमन्त्री राउतले मधेसी जनतालाई दिएको आश्वासन पुरा गर्न नसकेको भन्दै राउतका निर्वाचन क्षेत्रका जनता उनी प्रति रुष्ट छन् । मुख्यमन्त्री राउतले आफ्नै निर्वाचन क्षेत्रमा पठाएको बजेट दुरुपयोग भएको, अधिकांश ठूला योजनाहरु अलपत्र परेका, आफ्नै कार्यकर्तालाई ठेक्का दिएर कमिशन खाएको, वीरगञ्जलाई मधेसको राजधानी बनाउछुँ भनेर वीरगञ्जका जनतामाथि घात गरेको आरोप उनी माथि लाग्ने गरेको छ ।

दोश्रो पटक जित्न सके पुन मुख्यमन्त्री बन्ने दाउमा रहेका लालबाबु राउतले पाँच बर्षे कार्यकालमा भएको भ्रष्ट्राचार र आफूले गरेका प्रतिवद्धता पुरा गर्न नसकेकोले चुनाव जित्न कठिन देखिन्छ । पर्साका जिल्लाको पोखरी सौन्दर्यको नाउँमा आएको करोडौको बजेट दुरुपयोग भएको र कुनै पनि काम समयमा सम्पन्न नहुदाँ मुख्यमन्त्री मौन वस्नुले उनी माथि थप प्रश्न उठने गरेको छ ।

मुख्यमन्त्री राउतको निर्वाचन क्षेत्रमा उनले आफ्ना कार्यकर्ता र तोकिएका ठेकदार मार्फत भएका कामपनि गुणस्तरहिन भएको देखिन्छ । लक्षमनामा निर्माण गरेको तरकारी वजार अलपत्र वनेको छ, मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रममा समेत करोडौ रुपियाँ घोटला भएको आरोपमा अख्तियारले छानवीन गरेको छ । बेटी शिक्षा कार्यक्रम अन्तरगत साइकल खरिदमा समेत अख्तियारले प्रदेस सरकारलाई दोषी करार गरेको छ ।

पर्यटन पूर्वाधारका लागि मुख्य मन्त्री राउतले मुख्यमन्त्री राउतले हाल सम्म ७ अर्ब पैसा खर्च गरेका छन् । उनले खर्च गरेको रकमबाट मधेस प्रदेशको कुन ठाउँलाई सुन्दर पर्यटकीय स्थल निर्माण गरियो त ? मुख्यमन्त्रीसँग जवाफ छैन ।

पोखरी सौन्दर्यकरणमा करोडौ रुपियाँ दुरुपयोग

मुख्यमन्त्री राउतको निर्वाचन क्षेत्रमा सवैभन्दा बढी मतदाता भएको वीरगञ्ज वडा नं. १६ को नगवा पोखरी सौन्दर्यीकरणका लागि पठाएको रकम समेत दुरुपयोग भएको आरोप स्थानीयवासीको छ ।

नगवा पोखरी सौन्दर्यीकरणका लागि परेरा/रञ्जन जेभी ललितपुरसँग २०७६ जेठ २२ गते १० करोड १ लाख ३० हजारमा ठेक्का ठेक्का सम्झौता भएको थियो । उक्त सम्झौताबमोजिम २०७८ बैशाख १४ गते निर्माण कार्य सम्पन गरिसक्नु पर्ने भएपनि हालसम्म करिब ३५ प्रतिशत मात्रै निर्माण कार्य सकिएको छ ।

भौतिक पूर्वाधार विकास कार्यालय पर्साका अनुसार बिनियोजित बजेटमध्ये हालसम्म ३ करोड ९७ लाख ८७ हजार ५ सय ७६ रुपैयाँ मात्रै खर्च भएको छ । आफ्नै निर्वाचन क्षेत्रको पोखरी निर्माणमा भएको दुरावस्था सुर्धान नसक्ने मुख्यमन्त्री राउतले फेरी भोट चाहियो भनेर कुन अनुहार देखाएर जनताका विचमा पुगेका छन् ? स्थानीयवासीले प्रश्न गर्न थालेका छन् ।

चालू आर्थिक वर्ष २०७९÷८० मा मधेस प्रदेश सरकारले उद्योग पर्यटन तथा वन मन्त्रालयको लागि ४ अर्ब ८४ करोड रुपैयाँ बजेट विनियोजना गरेको देखिन्छ । यो बजेटमा पोखरी सौन्दर्यीकरणदेखि मठ मन्दिर संरक्षणको खर्च पनि समावेश गरिएको छ । मठ मन्दिर संरक्षणको लागि मात्रै ३० करोड ३४ लाख रुपैयाँ विनियोजन भएको छ ।
तर, देशको मुख्य प्रवेशद्वार मानिएको वीरगञ्जलगायतका क्षेत्रमा प्रदेश सरकारले सञ्चालन गरेका पोखरी संरक्षण र सौन्दर्यीकरणको काम अलपत्र परेको छ । मधेश प्रदेश सरकारले मुख्यमन्त्री स्वच्छता अभियानअन्र्तगत पोखरी सौन्दर्यीकरणको योजना धेरै ठाउँमा अलपत्र अवस्थमा देखिन्छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली पोखरीको सौन्दर्यीकरणका लागि विनियोजित १० करोड ४३ लाख १७ हजार रुपैयाँमध्ये ७ करोड ७ लाख ८१ हजार भन्दा बढी रकम खर्च हुँदा पनि कार्यप्रगति सन्तोषजनक छ्रैन । परेरा/रञ्जन जेभि ललितपुरले लिएको उक्त ठेक्का २०७८ बैशाख १४ सकिएको छ ।

पर्साको छिपहरमाई गाउँपालिकास्थित छिपहरमाई पोखरीको सौन्दर्यीकरणको लागि परेरा÷रञ्जन जेभी, ललितपुरले १० करोड ४४ लाख ६३ हजार १८० रुपैयाँमा ठेक्का लिएको थियो तर यसको प्रगति एक चौथाई पनि हुन सकेको छैन् ।

ठेकेदारले यति कार्य गरेबापत दुई करोड १४ लाख ६१ हजार ८५४ रुपैयाँ भुक्तानी लिइसकेको छ भने यसको ठेक्का अवधि पनि २०७८ वैशाख १४ मा समाप्त भइसकेको छ । वीरगंज महानगर–१५ मा रहेको लक्ष्मणवा पोखरीको सौन्दर्यीकरण गर्न २०७७ फागुन १० गते एक करोड ७५ लाख २१ हजार ४१९ रुपैयाँमा सुनकोशी कन्स्ट्रक्शनले ठेक्का लिएको थियो । अहिलेसम्म यो ठेक्काको कार्यप्रगति ७३.२६ प्रतिशत छ र ठेकेदारले सोबापत एक करोड २८ लाख ३६ हजार ५३९ रुपैयाँ भुक्तानी पाइसकेको छ । यो ठेक्काको अवधि पनि समाप्त भइसकेको छ तर कार्य सम्पन्न हुन सकेको छैन ।

वीरगञ्जकै मुर्ली बगैंचास्थित पोखरीको सौन्दर्यीकरणको लागि २ करोड ५ लाख ४१ हजार २ सय रुपैयाँमा ठेक्का लिइएको थियो । विकोई÷किशोर जेभीले २०७७ फागुन ११ मा सम्झौता गरेको भएपनि अहिलेसम्म यसको कार्य शुरू नै हुन सकेको छैन ।

पर्सा जिल्लाकै पटेर्वासुगौलीमा रहेको निचुटा पोखरी सौन्दर्यीकरणको अवस्था पनि उस्तै छ । ३ करोड ६ लाख ३१ हजार ३५३ रुपैयाँमा नागार्जुन÷हेम–सरबासार्की, काठमाडौंले ठेक्का लिएको यस पोखरीको कार्यप्रगति १०.८ प्रतिशत मात्र छ ।ठेकेदारले ३१ लाख १८ हजार ७४४ रुपैयाँ भुक्तानी भने लिइसकेको छ । यस ठेक्काको सम्झौता अवधि पनि समाप्त भइसकेको छ ।

पोखरी सौन्दर्यीकरणका नाउँमा आएको बजेट दुरुपयोग हुदा समेत मुख्यमन्त्रीले सोधखोज गर्न नसक्नु र गत निर्वाचनमा आफूले प्रतिवद्धता गरेका अधिकांश योजना अलपत्र अवस्थामा रहनुले मुख्यमन्त्री लालबाबु राउतलाई यसपटक चुनाव जित्न कठिन देखिन्छ । हरेक वडामा मुख्यमन्त्रीका विरुद्ध आवाजहरु उठन थालेका छन ।
मुख्यमन्त्रीको विकल्पमा बामलोकतान्त्रीक गठबन्धनका उमेदवार रामनारायण कुर्मी, स्वतन्त्र उमेदवार शशिकपुर मियाँ र ओम प्रकाश सरार्फ अहिले चुनावी प्रतिस्पर्धामा छन् । मुख्यमन्त्रीलाई हिजोका दिनमा सहयोग गरेको एउटा जमात शशिकपुर मियाँको साथमा देखिएका छन् ।

यता नेपाली काग्रेसको तर्फबाट उमेदवार बनेका रामनारयण कुर्मीलाई गठबन्धनको साथ रहेको छ । मुख्यमन्त्रीका विरुद्ध लडने बलियो उमेदावरको रुपमा कुर्मीलाई पनि हेरिएको छ । स्वतन्त्र उमेदवार ओमप्रकाश सरार्फतर्फ पनि युवाहरुको आकर्षण देखिएकोले अहिले कांग्रेसका कुर्मी र स्वतन्त्र उमेदवार शशिकपुर मियाँले मध्ये एकले नै मुख्यमन्त्रीलाई हराउन सक्ने आकलन गरिएको छ ।

प्रतिक्रिया





Top