जनकपुरधाम । आसन्न प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनको उम्मेदवारसंग मतदाताहरुले किसानको समस्या समधान गर्न माग गरेका छन् । खेतीकै याममा मल अभाव हुने,सिंचाई नहुँदा खेत बाँझो राख्नु परेको र उत्पादन नहुने गरेको समस्या निराकरण गर्ने सम्बन्धी योजना ल्याउन किसानहरुले उम्मेदवारसँग माग गर्ने गरेका छन् । मध्य वर्गका समुदायमा उम्मेदवारहरु मत माग्न पुग्दा किसानको समस्या उत्थान गर्न माग गर्दै आएका छन् ।
घरदैलोमा पाँच दलीय गठबन्धनका उम्मेदवार अनिल झा र प्रदेशसभा सदस्य पदका उम्मेदवार रामसरोज यादव पुग्दासमेत मतदाताहरुले मलकै समस्या उठान गरेका थिए । उम्मेदवारहरुले प्रत्येक चुनावको बेला घोषणापत्रमा सिंचाई र मल उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि त्यो कार्यान्वयन हुन नसकेको स्थानीय सीताराम यादवले बताए । उनको खेत वर्षातको याममा डुबानमा हुन्छ भने अन्य दिन खडेरी जस्ता समास्यामा पनि ध्यान दिन उनले उम्मेदवार द्वयलाई आग्रह गरे । ‘किसानको समस्या वर्षौदेखि यथावत् छ । यहाँ बाढीमा डुबान हुन्छ वर्षातमा खडेरी,’उनले भने,‘मल, बीउ त समयमा पाउँदैनन् । सडक र सिंचाईको के कुरा गर्नु ? त्यसकारण हामी तपाईहरुलाई सर्मथन गर्छौ तर हाम्रो समस्या नर्बिसेर समाधान गर्नेतर्फ लाग्नु होला ।’ सीताराम यादव ६० वर्षदेखि मतदान गर्दै आइरहेका छन् । अहिले उनको उमेर ८३ वर्ष पुग्यो ।
उनी परम्परागत रुपमै खेतीपाती गरी परिवार पाल्ने गरेका छन् । तर उनले सरकारबाट पाउने कुनै सुविधा किसानको रुपमा नपाएको गुनासो गरे । ‘खेतमा आवश्यक पर्ने मल पनी यहाँको जनता भारतबाट ल्याउँछ । यहाँबाट जितेर गएको नेता के गरेको छ खै ?,’उनले भने ,‘त्यसकारण मलको व्यवस्था गर्नुस् हामी मत दिन तयार छौं ।’सीताराम जस्तै रवि सादाको पनि गुनासो छ । उनले दश कट्ठा जग्गा जग्गा लिजमा लिएर धान खेती गरे । तर मल र पानी अभावमा राम्रो उत्पादन हुन नसकेको उनले बताए । ०७४ को चुनावमा उम्मेदवारहरुले गरेको वाचा सम्झिदै नेताको भाषणबाट दिक्क भएको बताउँछन् ।
सोही बस्तीकी रामकलि सदाले पनि दलितको समस्या समाधान गर्न कोही नभएको बताइन् । दुई धुर जमिन घर रहेको उनको परिवार मजदुरी गरी गुजारा गर्छन् । रोजगारीको वयवस्था गर्ने नेतालाई भोट दिने मन थियो । तर अहिलेसम्म त्यस्तो नेता नपाएको उनले बताइन् । भत्किएको घर मर्मत गर्न आर्थिक समस्या भएको भन्दै उनले गत निर्वाचनमा पक्की घर बनाइदिने नेताहरुले आश्वासन दिएको उनले सम्झिइन् । ‘मत माग्ने उम्मेदवारले पक्की घर बनाइदिने आश्वासन दिएको पनि पाँच साल बितिसक्यो,’उनले भनिन्,‘तर नयाँ घरको के कुरा भत्किएको घर पनि मर्मत गर्दिएन कसैले ।’ रामविलास पासवान बिरामीले थला परेको १३ वर्ष भयो । पक्षघातले सामान्य हिडडुल बाहेक केही गर्न सकेका छैन् । तर सरकारबाट उनले कुनै सहयोग न पाएको बताउँछन् । उनले स्थानीय सरकारमा आर्थिक सहयोगको लागि कतिपटक गुहार गरे, तर सबैले आलटाल गरेको उनको आरोप छ । ‘कहिले कर्मचारी छैन् भन्छन् त कहिले मेयर । कहिले के सिफारिस ल्याउनु भन्छन् कहिले के,’उनले भने,‘स्पष्ट रुपमा कुन कुन कागजात चाहिन्छ कसैले भन्दैनन् । तर घुमाएर अनावश्यक दुःख दिने काम गर्छन् ।’
प्रतिक्रिया