नेपाल–भारत सीमा ७२ घण्टाअघि बन्द गर्ने सहमति

मधेशपाटी अनलाइन     २०७९ कार्तिक २७, आईतवार ०८:३० बजे मा प्रकासित


जनकपुरधाम । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि नेपाल–भारत सीमा ७२ घण्टा अगाडि बन्द हुने भएको छ ।

जिल्लास्तरीय सीमा सुरक्षा समन्वय समितिको बैठकले ७२ घण्टा अघि सीमा बन्द गर्ने निर्णय गरेको हो । शनिबार बसेको बैठकले सो निर्णय गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार बैठकमा दुबै देशका सुरक्षा अधिकारी सहभागी थिए । उनीहरुले दुबै देशको सीमा भएर हुने अपराध, अवैध हातहतियार, चोरी पैठारी, लागूऔषध ओसार पसार लगायत अवैध कारोबार नियन्त्रण गर्ने विषयमा बृहत् छलफल भएको छ ।

बैठकमा अवैध कारोबार नियन्त्रणसम्बन्धी र कारोबार सम्बन्धी गोप्य सूचनाहरु पनि दुबै देशका प्रतिनिधिहरुले आदानप्रदान गरेका थिए । सूचना अदानप्रदानपछि दुबै देशले रणनीति बनाएर यस्ता गतिविधि नियन्त्रण गर्ने सहमति गरेको छ । सीमामा हुने अपराध नियन्त्रणका लागि दुबै देशले समन्वय गर्ने, विपद् पूर्व तथा विपद्का बेला सूचना आदानप्रदान गर्ने, राजश्व चुहावट नियन्त्रण र सीमामा आवतजावत गर्दा हेल्थ डेस्कमा जाँच गर्ने लगायतका विषयमा छलफल भएको छ । बैठकमा नेपालका तर्फबाट धनुषा, महोत्तरी, सिरहा र सप्तरीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरीका प्रमुख, भन्सार कार्यालयका प्रतिनिधि र भारतको तर्फबाट मध् वनी जिल्लाको मजिस्ट्रेट तथा भन्सार कार्यालयका प्रतिनिधिको सहभागिता थियो । समन्वय समितिको बैठक हरेक तीन–तीन महिनामा बस्ने गरेको छ ।

प्रतिक्रिया





Top