मधेसपाटी डेस्क, जनकपुरधाम। धनुषा निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार किशोरी साह कमलले जनमत पार्टीको मुख्य एजेण्डा नै भ्रष्टाचारलाई निरुत्साहित गर्नु रहेको बताएका छन् । गरिब निमूखाका लागि आवाज उठाउँदै आईरहेको जनमत पार्टी नेतृत्व तहमा पुगे भ्रष्टाचारलाई जरैदेखि निर्मूल पार्ने उनले स्पष्ट पारे ।
धनुषा १ मा आफू माथी एमालेमा अन्याय हुँदा जनमत पार्टीले न्याय गरेको र प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएकाले पनि आफ्नो स्थिति मजबुत हुँदै गईरहेको उनको दावी छ । उनले जनताको दबाब र क्षेत्रमा बैकल्पिक शक्ति निर्माणका लागि आफु उम्मेदवार बनेको बताए । एमाले भित्र आफूले पछाडी परेका क्षेत्रहरुका साथै गरिब निमूखाका लागि बोल्नुका साथै विभिन्न विकास निर्माणका कार्यहरु यस क्षेत्रमा काम गरेपनि अवसर नदिइएकोमा आक्रोश व्यक्त गरे ।
बाध्य भएर आफू गरिब तथा निमूखाका लागि बोल्ने पार्टी जनमतबाट प्रतिनिधिसभाको टिकट लिएको स्पष्ट गरे । किशोरीले आइतबार गणेशमान चारनाथ नगरपालिकाको बरमझिया, डुमरिया, राधापुर र भरतपुर लगायतका गाउँमा पुगेर मतदाताहरुलाई आफ्नो पक्षमा मतदान गर्न अपिल गरेका थिए । उनले आफू प्रदेशसभा सदस्य रहँदा गरेका कामहरुको मूल्यांकन गरेर आफ्नो पक्षमा मतदान गर्न आग्रह गरे । कमलले विकास र समृद्धि आफ्नो मूल एजेण्डा रहेको बताए ।
विकास शिक्षा बिना सम्भव नरहेकाले पहिला यस क्षेत्रको विकासका लागि शिक्षामा काम गर्ने प्रतिवद्धता व्यक्त गरे । प्रदेशसभा सदस्यको रुपमा निर्वाचित भएको बेला शिक्षा क्षेत्रमा विकासका लागि सदनमा निरन्तर आफूले आवाज उठाएको उनको दावी थियो । यहाँका जनताले प्रतिनिधिसभामा निर्वाचित गराए त्यहाँ पनि आवाज उठाउन बन्द नगर्ने प्रतिवद्धता व्यक्त गरे ।
प्रतिक्रिया