सप्तरीका मतदाताले कसलाई रोज्ने उपेन्द्र कि सीके राउतलाई?

मधेशपाटी अनलाइन     २०७९ कार्तिक २९, मंगलवार १९:४७ बजे मा प्रकासित


मधेसपाटी डेस्क, सप्तरी। यस पटकको संसदीय निर्वाचनमा सप्तरीको क्षेत्र नम्बर दुईलाई मधेस प्रदेशका नेता कार्यकर्तादेखि सर्वसाधारणसम्मले निकै चासोपूर्वक हेरेका छन्।

त्यसको कारण हो- मधेसका दुईजना चर्चित नेताहरू उपेन्द्र यादव र चन्द्रकान्त (सीके) राउतबीचको प्रतिस्पर्धा।

प्रतिस्पर्धीमध्ये यादव पहिलो मधेस आन्दोलनबाट उदाएका नेता हुन् भने राउत देश विखण्डनको मुद्दा छाडेर राजनीतिक मूलधारमा प्रवेश गर्ने लागेका हुन्।

उक्त क्षेत्रका धानबारीदेखि चिया पसलसम्म हुने चुनावी कुराकानीमा मुख्यत: यी दुई नेताको चर्चा भइरहेको पाइएको छ।

र, धेरैको आकलन छ- सायद यी दुई नेताबीच नै मुख्य प्रतिस्पर्धा हुनेछ।

यद्यपि कतिपयले यादव र राउत एवम् स्वतन्त्र उम्मेदवारबीच मत बाडिएमा त्यसको फाइदा सत्ताधारी गठबन्धनका उम्मेदवार जयप्रकाश ठाकुरलाई पनि पुग्नसक्ने बताइरहेका छन्।

चुनावी तालमेल

पहिले त्यसै क्षेत्रबाट १० हजारभन्दा बढी मतान्तरले जितेका जनता समाजवादी पार्टी (जसपा) का नेता यादव दोस्रो पटक पुन: निर्वाचित हुने दाउमा छन्।

अघिल्लो निर्वाचनमा संघीय समाजवादी फोरमबाट उठेका उनी मधेसवादी दलहरूको साझा उम्मेदवारका रूपमा विजयी भएका थिए।

त्यसबेला उनले वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका उमेशकुमार यादवलाई पराजित गरेका थिए।

त्यसबेला जयप्रकाश ठाकुर राष्ट्रिय जनता पार्टी (राजपा) मा आबद्ध थिए तर आफ्नो दलले यादवसँग तालमेल गरेपछि उनी स्वतन्त्र रूपमा उठेका थिए।

यादवसँगको उक्त चुनावी प्रतिस्पर्धामा तेस्रो स्थानमा रहेका ठाकुर अहिले सत्ताधारी गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका छन्।

यादवले नेकपा एमालेसँग तालमेल गरेर चुनाव लड्दैछन् भने सीके राउत चाहिँ मधेसका दलहरूसँग तालमेल गर्ने प्रयास असफल भएपछि तालमेल नगरी चुनामी मैदानमा उत्रिएका छन्।

यादव र राउतका चुनावी मुद्दा

चुनावी घरदैलोमा यादव

आफ्नो निर्वाचन क्षेत्रमा यादव र राउतले एक अर्काका गतिविधिलाई आलोचना गर्दै केही फरक र केही समान मुद्दाहरू उठाइरहेका छन्।

दुवै नेताहरू मतदातासमक्ष संविधान संशोधनको मुद्दालाई लिएर गएका छन्।

यद्यपि यादवले यसअघिको निर्वाचनमा पनि सोही मुद्दालाई चुनावी अभियानको हिस्सा बनाएका थिए।

दुवै दलले आफ्नो घोषणापत्रमा हालको नेपालको संविधानले परिकल्पना गरेको भन्दा बाहिरको “प्रत्यक्ष निर्वाचित कार्यकारी”को आवश्यकता ‍औँल्याएका छन्।

राउतको दलले त आफ्नो दलले जितेमा “नो भोट” तथा “राइट टु रिकल” जस्ता व्यवस्था गर्ने समेत घोषणापत्रमा उल्लेख गरेको छ।

राउतले चुनावी अभियानमा “पहिले जित्नेले जनतासामु गरेका बाचा पूरा नगरेको” आरोप लगाउने गरेका छन्।

यादवले चाहिँ आफूले गरेका कामका फेहरिस्त प्रस्तुत गर्दै “अपुरा काम पूरा गर्न नयाँ जनमत चाहिएको” बताइरहेका छन्।

चुनावी अभियानमा राउत

जित्ने दाबी र त्यसका आधार

नयाँ संविधान जारी भएपछि त्यसप्रति असन्तुष्टि व्यक्त गर्दै आन्दोलित बनेका र केपी शर्मा ओलीका कटु आलोचक भएका यादव अघिल्लो निर्वाचनलगत्तै ओली नेतृत्वकै सरकारमा सामेल भएका थिए।

उनी यो निर्वाचनमा पनि ओलीकै दलको समर्थन समेत लिएर चुनावी मैदानमा छन्।

त्यसप्रति उनकै क्षेत्रका कैयौँ मतदाताले असन्तुष्टि र निराशा व्यक्त गरे।

तर यादवचाहिँ “ओलीसँगका असहमति यथावत् राखेर चुनावी तालमेल” मात्र गरेको दाबी गर्छन्।

“मधेसी र जनजातिको अधिकार स्थापित गर्न” आफूहरूले गरेको योगदानलाई स्मरण गरेर पनि जनताले जिताउने उनको तर्क छ।

“हामीले गरेको त्याग र योगदानका कारण पनि जनता उत्साहित छन्। हाम्रो पार्टीमाथि ठूलो जनविश्वास भएकाले मेरो जित सुनिश्चित छ,” यादवले भने।

उनी उक्त क्षेत्रमा सुरु भएका विकास निर्माणका विभिन्न गतिविधिको श्रेय लिँदै ती योजनाहरूलाई पूरा गर्न “अर्को कार्यकाल आवश्यक पर्ने” बताउँछन्।

यादवले आफूले सुरु गरेका काम “पूरा गर्न थप समयका लागि” भन्दै भोट मागिरहेका बेला राउतले भने “पुरानाले केही नगरेको” भन्दै मत मागिरहेका छन्।

उनी जनभावना पनि त्यस्तै रहेकाले चुनाव जित्ने दाबी गर्छन्।

उनले भने, “जनताले परिवर्तन खोजेका छन्। पाँच वर्षमा एक पटक पनि भेटघाटका लागि नआएको र कामसमेत उल्लेख्य केही नगरेको व्यक्तिलाई जनताले मत दिँदैनन्।”

“यहाँका जनताले जहिले पनि कामै नहुने भएकाले परिवर्तन खोजेका छन् त्यसैले म भारी मतले जित्छु।”

स्थानीय तहको निर्वाचनमा उनको दलले मत पाउन नसकेकोबारे सोधिएको प्रश्नमा उनले भने, “स्थानीय तहभन्दा यो फरक चुनाव भएकाले यसमा परिवर्तन देखिन्छ।”

र, त्यस्तो परिवर्तनको आकांक्षा पूरा गर्ने पार्टीका रूपमा आफ्नो दललाई जनताले रोज्ने उनको दाबी छ।

मतदाता के भन्छन्?

उक्त क्षेत्रकी एकजना मतदाता ५९ वर्षकी दौपदीदेवी मेहेता यसपालि आफूले “पुराना नेतालाई भोट नदिने” बताउँछिन्।

उनले भनिन्, “पहिलेका नेताले केही काम गरेनन् अब नयाँलाई दिन्छु।”

सोही क्षेत्रकी झब्री साह पनि यसपालि नयाँ उम्मेदवारलाई भोट दिने पक्षमा छिन्।

“हामी परिवारमा छलफल गरेर भोट दिन्छौँ। अहिलेसम्म कसलाई दिने निर्णय गरेका छैनौँ,” उनले भनिन्।

“पहिलेका नेताहरू खराब भएकाले नयाँलाई नै भोट दिने हो। नयाँले केही गर्छन् कि भन्ने आशा छ।”

तर उक्त क्षेत्रमा पुरानैलाई भोट दिने निर्णय गर्नेहरूका पनि आफ्नै तर्क छन्।

बयालिस वर्षीय प्रभु यादव भन्छन्, “हामी काम गर्ने खालको उम्मेदवारलाई भोट दिन्छौँ।”

उक्त क्षेत्रबाट २०४६ सालपछि कुनकुन नेताले चुनाव जिते र उनीहरूले के गरे भन्ने सूची सुनाउँदै यादवले भने, “गएको पाँच वर्षमा जति यो क्षेत्रमा विकासका काम अरूले सुरु नगरेकाले त्यस्तो काम गर्नेलाई नै भोट दिन्छु।”

प्रतिक्रिया





Top