सप्तरी: जसपा र जनमतको शक्ति प्रदर्शन

मधेशपाटी अनलाइन     २०७९ मंसिर २, शुक्रबार ०८:५२ बजे मा प्रकासित


मधेसपाटी डेस्क, सप्तरी। प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि प्रचारप्रसारको अन्तिम दिन बिहीवार सप्तरीमा जनता समाजवादी पार्टी र जनमत पार्टीले शक्ति प्रदर्शन गरेका छन् ।

जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीले सदरमुकाममा एकै दिन पालैपालो शक्ति प्रदर्शन गरेका हुन् ।

अघिल्लो दिन सप्तरीको प्रतिनिधि सभा क्षेत्र नं. २ को सत्तारुढ गठबन्धनका साझा उम्मेदवार लोसपाका जयप्रकाश ठाकुरले शक्ति प्रदर्शन गरेपछि विहीबार जसपा र जनमतले पनि शक्ति प्रदर्शन गरी मतदातालाई आफ्नो पक्षमा पार्न सम्पूर्ण ताकत लगाएका छन् ।

 क्षेत्र–२ मा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार जय प्रकाश ठाकुर, जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा। सिके राउत बीच मुख्य प्रतिस्पर्धा छ । तर मतदानको तिथि नजिकिएसँगै जनमतका राउत सोझै माथि उक्लेका छन् ।अब प्रतिस्पर्धा यादव र राउतबीच केन्द्रित भएको राजविराज नगरपालिका–२ बाट मतदाता रहेका महेश साहले बताए ।

जसपा अध्यक्ष यादवको नेतृत्वमा स्थानीय राजरंगशालाबाट भारी संख्यामा निस्केको जुलुस नगर परिक्रमा गर्दै पुनः सोही स्थानमा पुगेर चुनावी सभामा परिणत भएको थियो ।

चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले मुलुकमा परिवर्तन आए पनि मधेश प्रतिको विभेद अझै कायम रहेको बताए । ५३ प्रतिशत जनसंख्या रहेको मधेशमा ३० प्रतिशतको मात्र सहभागिता रहेको उनले दाबी समेत गरे ।

 ‘मधेशको नागरिकताको समस्या अहिले पनि कायमै छ’ उनले भने, ‘जन्मसिद्धका छोराछोरीले नागरिकता नपाउनु उनीहरुमाथिको अन्याय हो ।’तर नागरिकता सम्बन्धी विधेयकलाई राष्ट्रपतिबाट दुई पटक फिर्ता गराउने एमालेसित अध्यक्ष यादवले चुनावमा गठबन्धन गरेका छन् ।

अध्यक्ष यादवले कृषिको पछौटेपन, बेरोजगारी, शिक्षा क्षेत्रको अस्तव्यस्तता, मधेशको पछौटेपनको मूल कारण रहेको भन्दै आफूहरुले त्यसमा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरे ।

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको नेतृत्वमा मत माग्दै ठूलो संख्यामा निस्केको जुलुश नगर परिक्रमा गर्दै जनआन्दोलन चोकमा चुनावी सभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै डा. राउतले मधेशी शहीदको भ¥याङ्ग चढेर सत्तामा पुगेका शासकहरुले मधेशीको भावनाको अपमान गरेको आरोप लगाए । ‘अहिले चलेको जङ्गल राजलाई समाप्त गरी जनताको राज्य स्थापना गर्न जरुरी छ ’ राउतले भने, मधेशमा भयावह बेरोजगारीका कारण लाखौं युवा कामका लागि विदेशिने गरेको र बाकसमा तिनको शव आउने गरेकोछ । उनले यस्तो अवस्थालाई मतद्वारा सुधार्न आवश्यक रहेको बताए ।

 मधेशलाई स्वतन्त्र राष्ट्र बनाउने नाराबाट चर्चामा आएका राउतले भने एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री रहेको बेला सम्झौता गरी मुद्दालाई विसर्जन गरेको आरोप खेप्नु परिरहेको छ ।

 यस क्षेत्रमा मधेशका प्रभावशाली नेताहरु बीचको प्रतिस्पर्धाले चुनावी माहोल निकै तताएको छ । मुख्य प्रतिस्पर्धी मानिएका सत्तारुढ गठबन्धनका ठाकुर, जसपा–एमाले गठबन्धनका यादव र जनमत पार्टीका डा. राउत तीनै जना दबाबमा छन् ।

प्रतिक्रिया





Top