उपचार केन्द्रबाट भागेको कैदी गिरफ्तार

मधेशपाटी अनलाइन     २०७९ मंसिर ३, शनिबार ०७:३४ बजे मा प्रकासित


विराटनगर । क्षयरोग उपचार केन्द्र विराटनगरबाट भागेका दुई मध्ये १ जना कैदी पक्राउ परेका छन् । डेढ महिना अघि भागेका राजकुमार हेमरन झापाको झापा गाउँपालिका–५ शरणामतिबाट पक्राउ परेका हुन् ।

उपचारका लागि विराटनगर महानगरपालिका–७ मा रहेको क्षयरोग उपचार केन्द्रमा भर्ना गरिएका झापा–५ का २८ वर्षीय हेमरन गत असोज १५ गते फरार भएका थिए । उनीसँगै झापा गाउँपालिका–३ का २८ वर्षीय मञ्जिल गुरुङ पनि भागेका थिए । क्षयरोग उपचार केन्द्रबाट फरार भएका डेढ महिनापछि हेमरन पक्राउ परेका हुन् ।

गाउँ घरमै लुकिछिपी बसेको अवस्थामा बिहीबार पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए । जबरजस्ती करणी मुद्दामा अदालतले हेमरनलाई २०७५ सालमा १६ वर्ष कैद सजायको फैसला सुनाएको थियो ।लागुऔषध मुद्दा विचाराधीन रहेका झापा गाउँपालिका–३ का २८ वर्षीय मञ्जिल गुरुङ भने अझै फरार छन् । लागूऔषध मुद्दामा अदालतले २०७८ कात्तिक ५ गते पुर्पक्षका लागि कारागार चलान गरेका गुरुङलाई उपचारका लागि हेमरनसँगै क्षयरोग उपचार केन्द्रमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया





Top