धनुषामा निर्वाचनका लागि ४ हजार ८४० कर्मचारी खटिए…

मधेशपाटी अनलाइन     २०७९ मंसिर ३, शनिबार १४:०८ बजे मा प्रकासित



मधेसपाटी डेस्क, धनुषा। भोलि (आइतबार) हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि धनुषाका सम्पूर्ण मतदान स्थलमा कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन् । जिल्लाको ३२२ मतदान स्थलका ६०५ वटै मतदान केन्द्रमा कर्मचारीहरू पुगिसकेको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।

उनले निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको र कर्मचारी तथा सुरक्षाकर्मीहरू निर्वाचन सामग्रीसहित मतदान स्थलमा पुगिसकेको बताए । निर्वाचनका लागि चाहिने आवश्यक ५२ प्रकारका सामग्रीहरू प्रहरीको सुरक्षामा मतदान स्थलमा सुरक्षाका साथ राखिएको छ ।

धनुषामा ३२२ मतदानस्थल मध्ये अतिसंवेदनशील १९४ वटा, संवेदनशील १११ र वटा १७ सामान्य मतदान स्थल रहेका छन् । प्रतिनिधिसभा तर्फ धनुषाको निर्वाचन क्षेत्र नम्बर–१ मा २५, क्षेत्र नम्बर–२ मा १६ , क्षेत्र नम्बर–३ मा ३१ र क्षेत्र नम्बर–४ मा ३१ जना उम्मेदवार छन् भने प्रदेशसभा १ को (क) मा १४, (ख) मा १४ र २ को (क) मा १४ तथा (ख) मा १७ जना उम्मेदवार छन् ।  त्यस्तै, ३ को (क) मा २० र (ख) मा २७ तथा ४ को (क) मा १९ र (ख) मा १३ जना उम्मेदवार छन् ।

धनुषामा निर्वाचनका लागि ४ हजार ८४० कर्मचारी खटिएका छन् । प्रत्येक मतदान केन्द्रमा ८ जना कर्मचारी खटाइएका छन् । ८ मध्ये प्रत्येक मतदान केन्द्रमा १ जना मतदान अधिकृत, १ जना सहायक मतदान अधिकृत, ५ जना सहायक कर्मचारी र १ जना कार्यालय सहयोगी रहनेछन् । मतदाता संख्याको आधारमा प्रत्येक मतदान केन्द्रका मतदान अधिकृतले ३ देखि ४ जनासम्म स्वयंसेवकसमेत खटाउन पाउने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

आइतबार हुने निर्वाचनमा यस जिल्लामा २ लाख ५२ हजार ९१५ पुरुष, २ लाख २१ हजार ६६५ महिला र अन्य ७ गरी कूल ४ लाख ७४ हजार ५८७ जनाले आ–आफ्नो मताधिकारको प्रयोग गर्ने भएका छन् ।

 

प्रतिक्रिया





Top