मधेस प्रदेशमा एमाले बन्यो सबैभन्दा ठूलो पार्टी

मधेशपाटी अनलाइन     २०७९ मंसिर १४, बुधबार ०७:०३ बजे मा प्रकासित



जनकपुरधाम । मंसिर ४ मा भएको संसदीय निर्वाचनमा मधेश प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो पार्टी बनेको छ।

मधेस प्रदेशका ३२ प्रतिनिधि सभा सदस्य र ६४ प्रदेश सभा सदस्यको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा एमालेले दुबैतर्फ सबैभन्दा धेरै सिट जितेको हो।

प्रतिनिधि सभामा ३२ मध्ये एमालेले ९ सिटमा जित हात पारेको छ। २०७४ को चुनावमा प्रतिनिधि सभामा एमालेले मधेसबाट दुई सिट मात्र जितेको थियो।

यो प्रदेशमा कांग्रेसले प्रतिनिधि सभा तर्फ ७ सिटमा जित हात पारेको छ। जनता समाजवादी पार्टीले ६ सिटमा जित निकालेको छ भने लोकतान्त्रिक समाजवादीले ३ सिट जितेको छ। मधेसमा ३ ठाउँमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् भने एक ठाउँमा जनमत पार्टीले जित हात पारेको छ।

प्रदेश सभामा पनि एमालेले प्रत्यक्षतर्फका ६४ मध्ये १५ सिटमा जित हात पारेको छ भने दोस्रो स्थानमा रहेको कांग्रेसले १३ सिट जितेको छ।

समानुपातिकतर्फ भने अहिलेसम्मको मतगणनामा मधेस प्रदेशमा नेपाली कांग्रेस पहिलो दल बनेको छ।

प्रतिनिधि सभाको समानुपातिकतर्फ कांग्रेसले ३ लाख ७२ हजार ७ सय ३४ मत पाएको छ भने एमालेले ३ लाख २३ हजार ४२ मत पाएको छ।

प्रदेश सभा समानुपातिकतर्फ पनि कांग्रेसको अग्रता कायम छ। कांग्रेसले अहिलेसम्म ३ लाख ५९ हजार ३२८ मत पाएको छ भने उसलाई पछ्याइरहेको एमालेले ३ लाख २२ हजार ८३४ मत पाएको छ।

समानुपातिकमा केही हजार मतले एमाले कांग्रेसभन्दा केही पछि रहे पनि प्रत्यक्षतर्फ उसले दुबैतर्फ २र२ सिट बढी जितेकाले समग्रमा यो प्रदेशबाट सबैभन्दा धेरै सांसद एमालेका हुने भएका छन्।

प्रतिक्रिया





Top