हामिलाई ओलीले खुला राजनीतिमा नल्याएको डा. राउतको दाबी

मधेशपाटी अनलाइन     २०७९ मंसिर १६, शुक्रबार १५:०२ बजे मा प्रकासित


 

मधेसपाटी डेस्क, जनकपुरधाम। जनमत पार्टीका केन्द्रीय अध्यक्ष एवं सप्तरी २ का नवनिर्वाचित सांसद डा. सीके राउतले आफ्नो पार्टीलाई केपी शर्मा  ओलीले खुला राजनीतिमा नल्याएको दाबी गरेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । डा. राउतले भने, ‘हामीलाई केपी ओलीले ल्याएको होइन, हामी आफैं खुला र शान्तिपूर्ण राजनीतिमा आएका हौं । हामीले नचाहेको भए उहाँले ल्याउन सक्नुहुन्थ्यो र ?’

आफ्नो पार्टी गठबन्धन सरकारमा सामेल हुने बताएका छन् । ‘हामीसँग तीनवटा विकल्प थिए । सरकारमा जाने, सरकारलाई समर्थन मात्र गर्ने वा प्रतिपक्षमा बस्ने । हिजो प्रधानमन्त्री शेरबहादुर देउवासँग वार्ता भएपछि हामी सरकार जान तयार भएका छौं । तर हामी मन्त्री बन्न मात्र जाने होइन, जनताको काम गर्न जाने हो । सरकारमा जानका लागि हाम्रा केही सर्तहरु छन् । किसान आन्दोलनका मुद्दा, नागरिकता विधयेक, शिक्षा, स्वास्थ्य, रोजगारी कुरामा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ । सरकारमा गएर जनअपेक्षा बमोजिमका काम जान सकिन्छ भन्नेमा विश्वस्त भएका छौं,’ प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. राउतले भने ।

पाँच दलीय गठबन्धन र जनमत पार्टीबीच कुनै लिखित सहमति नभएको पनि उनले बताए । डा. राउतले थपे, ‘शिक्षा, स्वास्थ्य क्षेत्रको सुधार, रोजगारी सिर्जना र किसानको समस्या समाधान हुने गरी प्रदेशमा भौतिक, सामाजिक विकास र अर्थ मन्त्रालय सम्हाल्न सक्छौं । केन्द्रमा भौतिक योजना पूर्वाधार र उद्योग मन्त्रालय चलाएर जनताका लागि काम गर्न सक्छौं ।’

प्रतिक्रिया





Top