जनकपुरधाम । धनुषाको कमला नगरपालिकामा निरन्तर विवादमै रहँदै आएको पूर्वी केही वडाध्यक्षहरुले नगरपालिकाका कार्यालय प्रमुखको हठ्ठले नगरपालिका ठप्प भएको आरोप लगाएका छन् ।
असारमै सम्पन्न भएको नीति तथा कार्यक्रम सार्वजनिकीकरण र नगरसभापछि पनि महिनौँदेखि ठप्प रहेको कमला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुबोध कुमार ठाकुरले हरहिसाब नदिँदा ठप्प हुँदै आएको आरोप वडाध्यक्षहरुको छ ।
कमला नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष राम भगत यादव, वडा नम्बर ६ का वडाध्यक्ष मो. समसुल मियाँ र वडा नम्बर ८ का वडाध्यक्ष तृपित भुडेरले अधिकृतले गत आर्थिक बर्षको हरहिसाब पारदर्शी नगरेको कारण नगरपालिका ठप्प भएको आरोप लगाएका छन् ।
अधिकृत ठाकुरले गत आर्थिक बर्षका कुन शिर्षकमा के कति खर्च भएको, कहाँ खर्च भएको, कति निकासा भएको भनेर पारदर्शी गर्न निरन्तर दबाब दिएपनि हिसाब पारदर्शी नगर्दा नगरपालिका ठप्प भएको आरोप उनीहरुले लगाएका छन् ।
कमला नगरपालिकाका मेयर र उपमेयरको आफ्नै झगडाले समेत प्रभावित रहेको कमला नगरपालिका अधिकृत ठाकुर र वडाध्यक्षहरुबीचको किचलोले समेत नगरपालिकाको आर्थिक कारोबार सुचारु हुन नसकेको आरोप छ ।
पटक पटक खर्चको हरहिसाब माग्दा नदिएको आरोप वडा नं. ३ का वडाध्यक्ष राम भगत यादवले लगाए । उनले अधिकृत ठाकुरले सरकारी बजेटलाई कामै नगरी रकम निकासा गरेको शंका लागेपछि आफूहरु हरहिसाब माग्दा अझै नदिएको आरोप लगाए ।
उनले आफूलाई एक पटक हिसाब दिएपनि सन्तोषजनक नरहेको तथा प्रत्येक पटक फरक–फरक हरहिसाब दिन थालेपछि झन शंकाको घेरामा आएको वडाध्यक्ष यादवले बताए ।
उनले भने, –“हामीहरुलाई गत आर्थिक बर्षमा के कहाँ, के कति खर्च भएको छ, बाँकी के कति बजेट बाँकी रहेको छ , त्यो पारदर्शी गरिदियोस्, भोलीपल्टबाटै नगरपालिका सुचारु हुन्छ । उहाँले हिसाब पारदर्शी नगरेसम्म हामीले योजना पेश गर्ने छैनौँ र हामीलाई बायकट्ट गरी नगरपालिका चलाउन सक्ने अवस्था छैन ।”
नगरपालिकामा मेयर उपमेयरको विवाद भन्दा पनि तीन वडाका वडाध्यक्षले मात्र अहिलेसम्म योजना नदिँदा विकास निर्माण, आर्थिक कारोबार सँचालन हुन नसकेको प्रमुख प्रशासकीय अधिकृत ठाकुरले जिकिर गरे ।
उनले ९ वटा वडामध्ये ६ वटा वडाको योजनाहरु आईसकेको र बाँकी ३, ६ र ८ को योजना मात्र बाँकी रहँदा योजनाहरु सूचिकृत नभएर नगरपालिका पूर्ण रुपले सूचारु हुन नसकेको बताए ।
वडाध्यक्षहरुले हरहिसाब माग गरेको सन्दर्भमा अधिकृत ठाकुरले योजना पेश गरी नगरपालिका सूचारु गरेर पनि हरहिसाब पारदर्शी हुन सक्ने अवस्थामा नगरपालिकालाई तीन वडाध्यक्षले बन्दी बनाएको आरोप लगाए ।
उनले भने, –“हामी कर्मचारी हौँ, जे आदेश आउँछ सोही बमोजिक हामीले गर्ने हो । निति नियम, कानुन, निर्णय सबै जनप्रनिधिहरुले गर्ने हो । मैले पटक पटक हरहिसाब पारदर्शी गर्दै आएको छु । अब कसरी उहाँहरुलाई सन्तुष्ट पारौँ यो आइडीया भएन् । नगरपालिका सूचारु गरेर सार्वजनिक स्थलमै हिसाब पारदर्शी गर्न म तयार छु ।”
यता, वडाध्यक्षहरुले आफूहरु स्थानीय सरकारको हिस्सा भएकोले जनताको कर, सरकारी बजेट कहाँ के कति खर्च भएको छ बारे जानकारी राख्नु आफ्नो अधिकार रहेको बताउँछन् । जनताहरुले सोधेको बेला पारदर्शी रुपले जवाफ दिन सक्ने दायित्व रहेको भन्दै हरहिसाब पारदर्शी गर्न आग्रह गरेका छन् ।
वडा नं. ३, ६ र ८ का वडाको योजना कमला नगरपालिकामा पेश भए लगत्तै नगरपालिका सूचारु हुनेछ, तर वडाध्यक्षहरुले हिसाब माग गर्दै अझै योजना नदिँदा नगरपालिका बन्दी बनेको छ ।
प्रतिक्रिया