प्रहरीका डिएसपी ठगबहादुर पक्राउ

मधेशपाटी अनलाइन     २०७९ पुष १२, मंगलवार ०८:०८ बजे मा प्रकासित


नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) को टोलीले अवैध गतिविधि (सुन प्रकरण)मा संलग्न रहेको आरोपमा इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई पक्राउ गरेको छ।

ब्यूरोलाई प्राप्त सूचनाका आधारमा गएराति काठमाडौँबाट खटिएको टोलीले बुटबलका खिलेन्द्र सिंह जिसीलाई रुपन्देहीको कालिकानगरस्थित महाराजा रिसोर्टको क्याबिनमा रु नौ लाख ५० हजार रकमको चेक र उनको झोलामा सुन जस्तो देखिने ३४ तोला २१ लालको पहेँलो धातुसहित पक्राउ गरेको थियो।

त्यसपछि उनीसँग गरिएको अनुसन्धानका क्रममा स्थानीय व्यवसायी किसन विक र इप्रका बुटबलका प्रमुख प्रहरी नायब उपरीक्षक केसीको आपसी सम्बन्ध रहेको खुलेपछि डिएसपी केसीको निवास लक्ष्मीनगरमा पुगेर उनलाई पक्राउ गरिएको सिआइवीका प्रवक्ता प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिनुभयो।

उनको घरमा खानतलासी गर्दा नगद रु आठ लाख ५० हजार फेला पारी बरामद गरिएको पनि उहाँले बताउनुभयो।

बरामद भएको रकम, सुन जस्तो देखिने पहेँलो धातु र ठगबहादुर केसी र खिलेन्द्र सिंह जिसीलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बुझाइएको पनि उहाँले जानकारी दिनुभयो।

प्रहरीका अनुसार उनले व्यापारीसँग सुन नियन्त्रणमा लिएर आफैँ राखेको र सुन फिर्ताका लागि पैसा लिएको आरोप छ। रासस

प्रतिक्रिया





Top