काव्या अस्पतालको लापरबाहीले रिंकुको मृत्यु ! अस्पताल पक्षद्वारा उल्टै परिवारजनमाथि हातपात

मधेशपाटी अनलाइन     २०७९ पुष २६, मंगलवार ०८:१३ बजे मा प्रकासित



जनकपुरधाम । जनकपुरधाम २१  कुर्थाका अमित साह आफ्नी २६ वर्षीया पत्नी रिंकु साहको गर्भमा जुम्लयाहा बच्चा रहेको जानकारी पाएसँगै सुरुदेखि नै सचेत थिए । रिंकुको सुत्केरीका बेला अपरेशन गरेर नै बच्चा निकाल्नुपर्छ भन्ने कुराको जानकारी पनि उनले चिकित्सकबाट पाइसकेका थिए । त्यसैले उनी सुरुदेखि नै सरकारी अस्पतालमा नगई महिनैपिच्छे काव्या अस्पतालकी डा. सोनिया सिंहसँगै रिंकुको फलोअप जाँच गराउँदै आएका थिए ।

गत मंसिर २५ गते पनि रिंकुको स्वास्थ्यमा समस्या देखिँदा अमितले उनलाई सोनिया सिंहसँग परामर्शका लागि काव्या अस्पतालमा ल्याएका थिए । त्यसबेला डाक्टर सिंहले औषधिहरु दिंदा उनलाई सञ्चो भएको थियो । अमित र रिंकु जुम्लयाहा बच्चा पाउने भन्दै एकदम खुशी थिए ।

आइतबार रिंकुलाई सुत्केरी बेथा लागेपछि बिहान करिब १० बजे काव्या अस्पताल लगिएको थियो । उनलाई अपरेशन गर्नुपर्छ भन्ने कुराको पूर्वजानकारी अमितलाई थियो । सोहीअनुरुप डा. सोनियाले दिउँसो करिब १ बजे रिंकुलाई अपरेशन रुममा लगिन् । उनको अपरेशन सफल भई करिब डेढ बजे जुम्लयाहा बच्चा जन्मियो । अपरेशनपश्चात डा. सिंहले पनि अब सबैथोक ठिकठाक रहेको कुरा अमितलाई सुनाइन् । त्यसपछि अमितको खुशी झन दोब्बर भयो । अमित खुशी हुँदै अस्पतालकी स्विपरसमेतलाई पैसा बाँडे । परिवारका अधिकांश सदस्य अस्पतालमै थिए । सबैजनाको खुशीको कुनै सिमा थिएन ।

त्यतिकैमा उनीहरुको खुशीकै बिच एउटा दुःखद खबर आयो । अस्पतालले रिंकुलाई अपरेशनपश्चात अत्यधिक रक्तश्राव भइरहेकोले तुरन्त रगको व्यवस्था गर्न अमितलाई सुझायो । अमित पनि हतपत रगतको व्यवस्थामा जुटे । धेरै प्रयास पछि केहीबेरमै उनले चारपोका रगत अस्पताललाई उपलब्ध गराए । त्यतिबेलासम्म बिरामीसँग उनको परिवारका कुनैपनि सदस्यले भेटघाट गर्न पाएका थिएनन् । रगत उपलब्ध गराएको केहीबेरमै फेरि अमितलाई बोलाएर डा. सिंहले रिंकुको रक्तश्राव अझै नरुकेकाले पाठेघर नै हटाउनुपर्ने सुझाव दिइन् । अमितले पनि अब दुईवटा बच्चा भइसकेकोले पाठेघर हटाउँदा केही फरक नपर्ने भन्दै पाठेघर हटाउने अनुमत दिए । डा. सोनियाले रिंकुको पाठेघर हटाएर उनलाई एनआइसियूमा सिफ्ट गरी अमितलाई विरामीसँग भेट्ने अनूमति दिंदै आफ्नो घर गइन् ।

त्यसपछि अमितले रिंकुसँग भेट्न जाँदा उनलाई बिरामीको अवस्था खराब रहेको र उनी एनआइसियूमा रहेकोले भेट्न नपाउने भन्दै अस्पतालका कर्मचारीले प्रवेश नै गर्न दिएनन् । अमितको मनमा आशंका जाग्यो । डाक्टरले विरामीसँग भेट्ने अनुमति दिएपनि अस्पतालका अन्य कर्मचारीले भेट्न नै नपाउने बताइरहँदा अमितले आफ्नो पत्नीको अवस्था कस्तो त्यो कुरा स्पष्ट रुपमा आफूलाई जानकारी गराउन अस्पताललाई दबाब दिए ।

त्यसको केहीबेर पछि अस्पतालका एक चिकित्सकले अमितलाई केबिनमा बोलाएर रिंकुको मृत्यु भइसकेको कुरा जानकारी गरायो । अमित हांगाबाट खसे झैं भए । उनका ति सबै खुशीहरु एकछिनमै दुःखमा परिणत भयो । उनलाई चिकित्सकको कुरामाथि विश्वास नै लागेन । अमितले अस्पतालको लापरबाहीले आफ्नो पत्नीको ज्यान गएको दाबी गरिरहे ।

डा. सिंहले अपरेशनकै बेला कुनै ठूलो गल्ती गरेर रिंकुलाई मारेको हुनसक्ने अमितको जिकिर छ । तर, उनको कुरा सुन्ने त्यहाँ कोही थिएन । रिंकुले डा. सिंहसँग नियमित गर्भ परीक्षण गर्दै आएकी थिइन् । चिकित्सककै सल्लाह बमोजिम आइतबार अस्पतालमा भर्ना भएको अमितले बताए । यसबीचमा पनि रिंकु चिकित्सक सिंहसँग नियमित सम्पर्कमा रहेको उनले बताए ।

मृतकका आफन्तले पनि अस्पताल भर्ना भएपछि बच्चालाई जन्मदिएको धेरै बेरपछि आमाको मृत्यु हुनुमा अस्पतालको गम्भीर लापरबाही भएको आरोप लगाएका छन् । रिंकु करिब आठ वर्षअघि डा. सिंहसँगै जनकपुरकै धनुषा अस्पतालमा कार्यरत थिइन् । यता, अस्पतालले महिलामा अचानक श्वासप्रश्वासमा समस्या देखिएको र अपरेशन गरेर बच्चा निकालेपछि उपचारकै क्रममा उनको मृत्यु भएको जनाएको छ ।

मृतकका आफन्तले अस्पतालमा केहीबेर प्रदर्शन समेत गरेका थिए । तर, अस्पतालले प्रकाश मिश्राको नेतृत्वमा १०/१५ जनालाई बोलाएर परिवारजनमाथी नै हातपात गर्न लगाएको पीडित पक्षको आरोप छ ।प्रकाशले अस्पतालमा रिर्पोटिङका लागि पुगेका सञ्चारकर्मी अमरेश मल्लिकसहितकाहरुको गुण्डागर्दी शैलीमा क्यामेरा बन्द गराउन लगाएर सबैलाई अस्पताल परिषरबाट बाहिर हटाएका थिए । मिश्राले सो क्रममा आफूसँग दुव्र्यवहारसमेत गरेको सञ्चारकर्मी मल्लिकले बताए ।

प्रतिक्रिया





Top