मधेश प्रदेशमा अर्थ र भौतिक पूर्वाधारसहित ३ मन्त्रालयमा एमालेको दाबी

मधेशपाटी अनलाइन     २०७९ पुष २९, शुक्रबार ०८:४९ बजे मा प्रकासित


जनकपुरधाम । नेकपा एमाले पहिलो पटक मधेश प्रदेशको सरकारमा सहभागी हुँदैछ । मधेश प्रदेश सभाको ठूलो दल एमालेले ३ वटा मन्त्रालयमा दाबी गरेको छ ।

अर्थ मन्त्रालय, भौतिक पूर्वाधार र सामाजिक विकास मन्त्रालयको दाबी गरिरहेको सांसद शारदा देवी थापाले बताइन् । प्रदेशमा १० वटा मन्त्रालय छन् ।

सत्तारुढ दलहरुको भागवण्डामा एमालेले मधेशको सभामुख पद पनि पाएको छ । २०७४ सालको निर्वाचनपछि गठन भएको प्रदेशसभामा एमाले पाँचै वर्ष सरकारबाहिर रहेको थियो । यसपटक २३ सिटसहित पहिलो शक्ति बनेको एमालेले १६ सिटको जसपालाई मुख्यमन्त्रीमा समर्थन गरेको छ ।

६३ सांसदको समर्थनमा बुधबार जसपा संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

उनलाई आफ्नै दल जसपाको १६, नेकपा एमालेका २३, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ९, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका १\१ तथा स्वतन्त्र प्रदेशसभा सदस्यहरुसहित ६३ प्रदेश सांसदको समर्थन छ ।

केन्द्रीय सत्ता समीकरण अनुसार यो प्रदेशमा जसपा र जनमत आधा कार्यकाल सत्ताको नेतृत्व गर्ने सहमति छ ।

प्रतिक्रिया





Top