मधेशमा आज माघे सङ्क्रान्ति : तराईमा नुहाउने पर्व मनाइँदै

न्यूज डेस्क     २०७९ माघ १, आईतवार ०८:२६ बजे मा प्रकासित


जनकपुरधाम । देशभर आज माघे संक्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ ।

सनातन संस्कृतिका अनुयायीहरू आइतबार माघे संक्रान्ति मनाउँदैछन्। माघ १ को बिहान सबेरै नदी, तलाउ जस्ता पवित्र स्थलमा स्नान गरी देवता र पितृहरूलाई तर्पण गर्ने परम्परा छ। माघे संक्रान्तिमा ब्राम्हण, पुरोहितहरूबाट मैना सुन्ने चलन पनि छ। मैना सुनाउनुको मुख्य उद्देश्य अयन, ऋतु, तिथि र बार आदिको जानकारी दिनु हो।

सनातन धर्मावलम्बीले माघे/मकर संक्रान्ति मनाइरहँदा थारु समुदाय नयाँ वर्षको रूपमा माघीको उत्सव मनाइरहेका छन्। यस्तै, काठमाडौं उपत्यकाको नेवार समुदाय ‘घ्यो चाकु सन्हु’मा रमाउँदैछ। तराईमा तिला संक्रान्ति मनाउने परम्परा छ। माघे सक्रान्ति पर्व मगर समुदायको मुख्य पर्व हो। उनीहरुले यस पर्वलाई माघे सकराती भनी मनाउँछन्। मगर समुदायमा आजको दिनमा चेलिवेटी पुज्ने गरिन्छ। लिम्बु समुदायले माघे संक्रान्तिलाई कक्फेक्‍वा तङनामको रुमा मनाउँदै आएका छन्। उनीहरुले आजको दिनलाई येले सम्बत् सुरु भएको दिनको रुपमा नयाँ वर्षको रुपमा मनाउँछन्।

प्रतिक्रिया





Top