मधेस प्रदेश : पूर्वमुख्यमन्त्री लालबाबु राउतसहित यी पूर्वमन्त्रीले अझै फिर्ता दिएनन् गाडी

मधेशपाटी अनलाइन     २०७९ माघ ३, मंगलवार ०८:३८ बजे मा प्रकासित



जनकपुरधाम । मधेस प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त भएको एक साता पुग्न लागेको छ । तर, पूर्व मुख्यमन्त्री लगायत केही पूर्व मन्त्रीले प्रयोग गरिरहेको सरकारी गाडी अझै फिर्ता गरेका छैनन् । सुविधा स्वरुप उपलब्ध हुने सवारी बाहेक अरु थप सवारी सुविधा माग गर्न नपाइने व्यवस्था भए पनि कतिपयले अतिरिक्त सवारी साधन प्रयोग गरेका थिए । कानुनले बर्जित गरेको सवारी सुविधा आफू खुसी चढिरहे पनि मन्त्रालयका सचिवहरुले ती गाडी फिर्ता लिन खास चासो देखाएका छैनन् ।

पूर्व मुख्यमन्त्री लालबाबु राउतले आफू चढ्ने गाडी बाहेक अन्य ३–४ वटा गाडी अझै बुझाएका छैनन् । निजकै जिम्मामा रहेको ३–४ वटा गाडी अझै नबुझाएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नुरहरी खतिवडाले जनाए ।

उनले भने, सायद अझै ३–४ वटा गाडी पूर्व मुख्यमन्त्रीको जिम्मामा छ । प्रमुख सचिवले पूर्व मुख्यमन्त्रीज्यूको निजी सचिवलाई गाडी बुझाउन भन्दै हुनुहुन्थ्यो, हिजो र आज बिदा नै भयो । भोलि बुझाउनु हुन्छ होला । पूर्व मुख्यमन्त्रीको सचिवालय सदस्य तथा निजका पिएहरुले मन्त्रालयको गाडी प्रयोग गर्दै आइरहेको श्रोतले जनाएको छ ।

त्यस्तै, प्रदेशका पूर्व उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुधन महतोले प्रयोग गर्ने गाडी पनि अझै फिर्ता नगरेको प्रदेश सचिव विशाल घिमिरेले जनाए । उनले भने, पुस २९ गते नै गाडी बुझाउन जानकारी गराउँदा भोलि फिर्ता गर्छु भने पनि हालसम्म फिर्ता भएको छैन ।

तर, तत्कालीन राज्यमन्त्रीले प्रयोग गर्ने गाडी पुस २९ गते नै फिर्ता भएको सचिव घिमिरेले जनाए । धनुषाको ४ (२) बाट निर्वाचित भएर मन्त्री बनेका महतो गत निर्वाचनमा मिथिला नगरपालिकाका पूर्व मेयर हरिनारायण महतोसँग पराजित भए ।

त्यस्तै तत्कालीन गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साहले प्रयोग गर्ने गाडी फिर्ता नगरेको प्रदेश सचिव रामकुमार महतोले जनाए । तर तत्कालीन राज्यमन्त्रीले प्रयोग गर्ने गाडी फिर्ता भइसकेको छ । बिचमा सार्वजनिक बिदा परेर गाडी फिर्ता गर्न ढिला भएको हुनसक्ने सचिव महतोले बताए ।

त्यस्तै तत्कालीन महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री विरेन्द्र प्रसाद सिंहले प्रयोग गरिरहेको एउटा गाडी र २ वटा मोटरसाइकल निर्वाचनकै समयमा बुझाइसकेको सो मन्त्रालयका जिन्सी शाखा प्रमुख पारशमणि साहले जनाए । उनका अनुसार गाडीहरु बुझाए पनि निजको जिम्मामा रहेको ल्यापटप लगायतका सामान अझै फिर्ता भएको छैन ।

त्यसैगरी तत्कालीन अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले बिदाई कै दिन पुस २९ गते नै गाडी बुझाइसकेको सो मन्त्रालयका उपसचिव अजय कुमार कर्णले जनाए ।

पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय यादवले पनि पुस २९ गते नै आफूले प्रयोग गर्ने गाडी फिर्ता गरिसकेको सो मन्त्रालयका प्रदेश सचिव नम्रता सिंहको भनाइ छ ।

यस्तै तत्कालीन कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्रीले प्रयोग गर्ने गाडी पनि फिर्ता भइसकेको सचिव उत्तम प्रसाद खरेलले जनाए । त्यसैगरी तत्कालीन सामाजिक विकास मन्त्री नवल किशोर साहले पनि गाडी फिर्ता गरिसकेको सचिव लक्ष्मी प्रसाद भट्टराईले जनाए । पूर्व मन्त्री साहले मन्त्रालयबाट लिएका सबै जिन्सी सरसामान फिर्ता गरिसकेको सो मन्त्रालयका जिन्सी शाखा प्रमुख शम्भु ठाकुरले जनाए ।

प्रदेशमा मुख्यमन्त्री कार्यालयसहित १० वटा मन्त्रालय छन् । पूर्व मुख्यमन्त्रीसहित २ जना पूर्व मन्त्रीले अझै गाडी फिर्ता नगरेको सम्बन्धित मन्त्रालयका सचिवहरु बताउँछन् ।

प्रतिक्रिया





Top