नाकाहरूबाट व्यापक तस्करी,घुमुवा तानिएपछि असुली धन्दा झनै खुलेयाम

मधेशपाटी अनलाइन     २०७९ माघ ८, आईतवार १५:११ बजे मा प्रकासित



राजविराज । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले लामो समयदेखि बसेका घुमुवाकाे रूपमा परिचालन गरिएकाहरूलाई काठमाडौ उपत्यका भित्रका विभिन्न गणहरूमा काज सरूवा त गरे तर सीमावर्ती क्षेत्रबाट हुने तस्करी धन्दा न त राेकिएकाे छ न त सशस्त्र प्रहरीको असुली धन्दा नै राेकिएकाे छ । हिजो तल्लो दर्जाका घुमुवाहरूलाई परिचालन गरेर रकम उठाउने प्रचलन थियो भने अहिले बेश र बिअाेपी प्रमुखहरूलाई महिनावारी दररेट ताेकेर रकम उठाउने गरिएको कुरा स्वयं सशस्त्रका प्रहरी नै बताउँछन् ।

गणदेखि बाहिनी सम्म रकम ताेकिएकाे छ र काम चलेपनि नचलेपनि ताेकिएकाे रकम बुझाउनै पर्छ । तस्करी गरेर भए पनि वा जसरी पनि रकम ताेकेर माग्ने हाकिमलाई कारवाही गर्नुपर्ने आवाज अहिले सशस्त्रका सप्तरीका तल्लो तहका प्रहरीहरू बताउँछन् । भारतीय सिमाबर्ती क्षेत्रबाट व्यापक तस्करी हुँदै आइरहेको छ । सशस्त्र प्रहरीको सेटिङमा अहिले सप्तरीका विभिन्न नाकाबाट तस्करी भइरहेको छ । बिओपी सोरनपट्टीबाट केही तस्करहरूलाई तस्करीको लाइन दिएका छन् । सोरनपट्टीबाट तस्करीको लाइन दिएकाहरूमा उमेश साह किराना, महिला समूह किराना, कपडा, कस्मेटिक, महेन्द्र साह, बिरेन्द्र यादव रक्सी र कपडा, धुरण साह कपडा, किशोर मण्डल कपडा, सियाराम साह कपडा, रामलाल मण्डल कपडा रहेका छन् । त्यसैगरी बिओपी पाती क्षेत्रबाट यिनै एसपी र घुमुवाको सेटिङमा तस्करीको लाइन पाउनेहरूमा तरूणदेव यादव कपडा, मनतोष राई किराना, जितेन्द्र राई किराना र कस्मेटिक, मनोज चौधरी कपडा, कमलेश साह हार्डवेयर र किराना, महेश राई सुरेन्द्र राई रक्सी र रामविलास यादव कपडा रहेका छन् । भारदह नाकाबाट अनिल पजियारले कपडा बुडन मुखियाले सूर्तिजन्य देखि अन्य , पाताे सीमावर्ती क्षेत्रबाट अरूण देव यादव कपडा महेश साह रक्सीकाे तस्करी धन्दा गर्छन् भने अमित साह र सानू यादवले सिराहा नाकाबाट तस्करी गराई सप्तरी सम्म सामान ल्याउंछन । उनीहरू दुबैले कपडाको ठूलो तस्करी गर्दै आएका छन् । यी काराेवारीसंग सम्पर्क गर्ने काम जिल्ला प्रहरी कार्यालय सप्तरीका घुमुवाले गर्दै आएका छन् । घुमुवा दिनभर नै यिनै काराेवारीसंग हुने र रकम उठाउने काम गर्दै आएको यहाँका व्यवसायीहरू बताउँछन् । सीमावर्ती क्षेत्रबाट नाउमा हरियो मटर तस्करी मौलाएको छ । हनुमाननगर कंकालिनी नगरपालिका–२ को कोशी पलारबाट महिनौदेखि नाउमा हरियो मटरका बोरा राखेर भारतको कुनौली तस्करी हुँदै आएको खुलेको छ । रामपुर मलहनीया प्रहरी चौकीका असईको सेटिङमा मटर तस्करी यो नाकाबाट भएको छ । ईलाका प्रहरी कार्यालय हनुमाननगरका प्रमुख सईको सेटिङमा मटर तस्करी भएको छ । नाउबाट मटर तस्करी भइरहेको बारे आफूलाई अनविज्ञ रहेको सईले बताए । ‘मैले त चाल नै पाईन’ उनले भने,‘गस्तीमा जाँदा थोरथोरै त मैले पनि पक्रेको हुँ । पोका बनाएर लगिरहेको बेला पक्रेका हौं ।’ बोराका बोरा लगोको पत्तै पाईन, उनले भने । ईलाका प्रहरी कार्यालय हनुमाननगरबाट नाउमा मटर तस्करी हुने कोशी पलार क्षेत्र मुस्किलले पाँच किलोमिटर छ ।

 

तस्करहरुका लागि सप्तरीको कोशी पलार क्षेत्र सुरक्षित नाका बनेको छ । पहिला तेश्रो मुलुकबाट नेपाल भित्र्याईएको मटरलाई तस्करहरुले सिमावर्ती नाकासम्म पुर्याउने र त्यहाँबाट सीमामा सुरक्षाकर्मीको आँखा छलेर भारत पुर्याउने गरे पनि पछिल्लो समय सप्तरी केन्द्रित भएर मटर तस्करहरु कोशी पलार क्षेत्रबाट नाउमा मटर पारि भारत पुर्याउछन । भारतमा मटरको भाउ राम्रो पाइने भएकाले नेपालमा सस्तो रहेको मटर भारत तर्फ चोरी निकासी गर्ने गरेका छन् । नेपालमा तेस्रो मुलुकबाट आयातित मटरको तुलनामा प्रतिकिलो ५० रुपैयाँ कम पर्न थालेपछि भारततर्फको अवैध निर्यात बढेको हो । सीमापारी लगिएको मटरको भुक्तानी भने भारतीय मुद्रामा हुने गरेको छ । मटरको भाउमा रहेको अन्तर यसको कारोबार बढ्नुको एउटा कारण हो भने भारतीय रुपैयाँ अर्को आकर्षण हो । सीमावर्ती क्षेत्रमा मटरको तस्करीसँग जोडिएर भारतीय मुद्राको अवैध सटही गर्ने दोहोरो धन्दा सीमावर्ती बजारको अर्को आकर्षण हो । तिलाठी बिओपीबाट इन्सपेक्टर कृष्णकुमार भण्डारीले पनि घुमुवा परिचालन गरेका छन् । तिलाठी नाकाबाट वीरेन्द्र मण्डलले सशस्त्र प्रहरीसँगको मिलेमतोमा माछा, विश्व मेहताले रक्सी, ललन मण्डलले बिंडी र कपडाको तस्करी गर्दै आएका छन् ।

नेपालबाट भारततर्फ मदिरा तस्करी समेत बढेको छ । भारतमा मदिरा बिक्री बितरण र प्रयोगमा समेत रोक लगाइएपछि नेपालबाट भारततर्फ मदिरा तस्करी बढेको छ । मदिरा तस्करहरुले हतियार बोकेरै मदिरा बिहार पुर्‍याउने गरेका छन् । सप्तरीबाट भारततर्फ मदिरा लग्ने समूहबाट हतियार समेत बरामद भएपछि यस्तो रहस्य खुलेको हो ।

प्रतिक्रिया





Top