विमान दुर्घटनामा मृत्यु भएका पत्रकार पौडेलको स्मृतिमा १० लाखको अक्षयकोष

मधेशपाटी अनलाइन     २०७९ माघ ९, सोमबार १५:०० बजे मा प्रकासित



पोखरा । काठमाडौंदेखि पोखरामा आउने क्रममा माघ १ गतेको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा नेपाल पत्रकार महासंघ गण्डकीले अक्षयकोष निर्माण गर्ने भएको छ ।पौडेल नेपाल पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्षसमेत हुन् । सोमबार कार्यबाहक अध्यक्ष सोनी शर्माको अध्यक्षतामा बसेको बैठकले आफ्ना संस्थापक अध्यक्ष स्वर्गीय पौडेलको स्मृतिमा अक्षयकोष स्थापना गर्ने निर्णय गरेको पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदीले जानकारी दिए ।महासचिव पौडेलका अनुसार १० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने र हरेक वर्ष स्वर्गीय पौडेलको स्मृतिमा ‘संस्थापक अध्यक्ष त्रिभुवन पौडेल स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरिने भएको छ ।महासंघ गण्डकीले पाँच लाख रुपैयाँ तत्काल कोषमा राख्ने र बाँकी पाँच लाख रुपैयाँ प्रदेश अन्तर्गतका जिल्ला शाखा र शुभचिन्तकहरुसंग समन्वय गरे जुटाउने महासंघले जनाएको छ ।
उक्त कोषबाट ‘त्रिभुवन पौडेल स्मृति पत्रकारिता पुरस्कार’ हरेक वर्ष प्रदेश भरका पत्रकार मध्यबाट एक पत्रकारलाई (पछि कार्यविधि तय भए अनुसार) प्रदान गरिनेछ । पुरस्कारसम्बन्धी कार्यविधि भनेपछि बनाइने महासचिव सुवेदीले बताएका छन् ।‘अहिलेलाई अक्षयकोष स्थापना गर्ने निर्णय भएको छ । यही कोषबाट हरेक वर्ष हाम्रा संस्थापक अध्यक्षको स्मृतिमा प्रदेशस्तरीय पत्रकारिता पुरस्कार प्रदान गरिनेछ । यसको कार्यविधि बनेपछि बनाइने छ,’ उनले भने ।
माघ १ गते काठमाडौंबाट पोखरा आउँदै गरेको यती एयरलाइन्सको जहाज पोखरामा दुर्घटना हुँदा त्यसमा सवार ७२ जनासहित पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष रहेका ३७ वर्षे पौडेलको पनि निधन भएको हो ।
स्वर्गीय पौडेल नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य र पत्रकार महासंघ गण्डकीको सल्लाहकारका सार्थ त्यसअघि महासंघ कास्कीको उपाध्यक्ष एवं २ कार्यकाल सचिव भएका थिए ।राष्ट्रिय स्वाभिमान साप्ताहिकबाट दुई दशकभन्दा अघि पत्रकारिता सुरु गरेका पौडेलले पोखरा हटलाइन दैनिक, रेडियो अन्नपूर्ण र नेपाल टेलिभिजनमा आवद्ध भई पत्रकारिता गरेका थिए । पछिल्लो समय उनी पोखरा हटलाइन दैनिकको प्रकाशक, सम्पादक थिए ।

प्रतिक्रिया





Top