धनुषाकाे जिल्ला प्रशासन कार्यालयमा नागरिकता फाँटको झ्यालअघि किन उभिए राजकुमार!

मधेशपाटी अनलाइन     २०७९ माघ १०, मंगलवार ०७:३६ बजे मा प्रकासित



जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाको झ्याल अगाडि उभिएर ‘सर… सर…’ भन्दै उनी नागरिकता फाँटका कर्मचारीलाई बोलाइरहेका थिए। अनुहारमा दिग्दारी थियो। उनको कुरा कर्मचारीले सुनेकै थिएनन्। उनीहरू काममा व्यस्त देखिन्थे।

गएको विहीबार मिथिला नगरपालिका ढल्केवरका राजकुमार साहलाई नागरिकता फाँटको झ्याल अघि एक घण्टादेखि लाइनमा देखेको थिएँ।

पछि उनीसँग कुराकानी हुँदा थाहा भयो झण्डै महिनादिनदेखि उनी जिल्ला प्रशासन कार्यालय धाएका रहेछन्।

अहिलेसम्म पनि उनले आफ्नो काम नभएको बताए।

उनले २५ दिन बढी झ्यालबाट ‘सर… सर… भनेर’ धेरैपटक बोलाए। कर्मचारीले वास्ता नगरेपछि एक दिन उनी पहिले सहायक प्रमुख जिल्ला अधिकारीको कार्यकक्ष गए। आफ्नो गुनासो सुनाए। उनले ‘फाँटकै कर्मचारीले हेर्छन् जानुस्’ भन्ने जवाफ पाए।

फेरि प्रमुख जिल्ला अधिकारीकोमा गए। उनले पनि त्यसै भने। राजकुमारको कुरा कर्मचारीले सुन्दै सुनेनन्।

 

उनी पत्नी सीमादेवी साहको नागरिकता प्रमाणपत्रको प्रतिलिपि निकाल्न जिल्ला प्रशासन कार्यालय धाएका हुन्। सक्कल प्रमाणपत्रमा फोटो बिग्रेकाले उनले प्रतिलिपि निकाल्न चाहेका हुन्।

राजकुमारका अनुसार कर्मचारीले उनलाई अहिले काम हुँदैन भनेका छन् तर अहिले किन हुँदैन र कहिले हुन्छ भन्ने जवाफ पाएका छैनन्।

‘मागेको जति कागज ल्याएको छु तर कर्मचारीले काम गरिदिएनन्। यो मिलेन, त्यो मिलेन भनेर फर्काउँछन्,’ उनले भने, ‘सुरुमै एउटा दलालले पैसा दिन्छौ भने एकै दिनमा काम गराइदिन्छु भनेको थियो। मैले दिइनँ।’

राजकुमारले नागरिकताको प्रतिलिपि निकाल्न धाउँदा दुई हजार रुपैँया खर्च भएको बताए।

‘कर्मचारीले भनेको सबै मुचुल्का र कागज लिएर आएको छु। फोटो बिग्रेको सक्कल नागकरिता पनि छ तर काम गरदिँदैनन्,’ उनले भने,

‘सिडियो (प्रमुख जिल्ला अधिकारी) लाई पनि भनेँ, फाँटमा जानुस् काम भइहाल्छ भन्नुहुन्छ तर यहाँ गरदिँदैनन्।’

राजकुमारका अनुसार फाँटका कर्मचारीले श्रीमानको जन्मसिद्ध नागरिकता हुँदा श्रीमतीको नागरिकता वंशजको कसरी भयो भनेका छन्।

उनी भन्छन्, ‘मेरी श्रीमतीले बिहेअघि नै बुबाको नामबाट नागरिकता बनाएकी हुन्। कर्मचारीले किन यस्तो कुरा खोजेका हुन्, मैले बुझेको छैन।’

क्षीरेश्वरनाथ नगरपालिका, दिगम्बरपुरका गुरुशरण महतो पनि आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि निकाल्न जिल्ला प्रशासन कार्यालय धाएको १५ दिनभन्दा बढी भयो।

उनका अनुसार आमाको नागरिकता प्रमाणपत्र झुत्रो भएर एउटा नम्बर मेटिएको छ। वृद्ध भत्ता लिन बैंकमा जाँदा समस्या भयो। उनी आमालाई लिएर आएका थिए।

कर्मचारीले पुरानो नागरिकताको रेकर्ड भेटिएन भनेर गुरुशरणलाई तीन दिन फर्काइदिए। चौथो दिन उनले जग्गाधनी प्रमाणपत्र देखाए।
अर्को दिन वडा कार्यालयबाट नाता प्रमाणित गराए। तैपनि कर्मचारीले काम नगरिदिएको उनको गुनासो छ।

‘पुरानो नागरिकता छँदैछ। मागेको सबै कागजात बुझाएर दौडेको दौड्यै छु तैपनि कर्मचारीले काम गरदिँदैनन्,’ उनी भन्छन्, ‘घुस लिन बिचौलियामार्फत काम गराउन खोज्छन्। बिचौलियामार्फत जानेको काम फटाफट हुन्छ।’

अर्का एक सेवाग्राही रामचन्द्र कापर नागरिकता प्रमाणपत्र बनाउन जिल्ला प्रशासन कार्यालय धाएको एक हप्ता भयो।

‘कहिले फाँटको कर्मचारी छैन भन्छ। कहिले आज भ्याइँदैन, भोलि आऊ भन्छ,’ उनले भने, ‘पेट पाल्न काम गर्नुपर्ने मान्छे, म घुस दिन सक्दिनँ। आज साढे नौ बजे आइपुगेको, डेढ बज्यो काम भएको छैन।’

जिल्ला प्रशासन कार्यालय, धनुषामा हैरानी भोग्ने राजकुमार, गुरुशरण र रामचन्द्र जस्ता सेवाग्राही धेरै भेटिन्छन्। कार्यालय छेउछाउ पुग्नासाथ बिचौलियाले समाउँछन्।

सेवाग्राहीहरूका अनुसार नागरिकता प्रमाणपत्र बनाउने, प्रतिलिपि निकाल्ने, राष्ट्रिय परिचयपत्र बनाउने जस्ता काममा कर्मचारीले कुनै न कुनै अड्को थाप्छन्।

केही पैसा दिएमा अड्को फुकाएर काम गराइदिने भन्दै बिचौलियाहरू आउँछन्।

एक सेवाग्राहीले भने, ‘दलाल (बिचौलिया) लाई पैसा दिँदा फटाफट काम हुन्छ। लाइनमा पनि बस्नु पर्दैन। सबै उसैले मिलाउँछ।’

उनका अनुसार बिचौलियाले माग्ने पैसामा पनि दलाली चल्छ। उनले भने, ‘सुरुमा दुई हजार, पच्चीस सय भन्छ। पछि त्यसको आधामा पनि काम गर्छ।’

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सेवाग्राहीलाई नअल्झाई काम गरिदिन जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएका भए पनि कुनै फरक नपरेको अजयकुमार यादवको भनाइ छ।

उनी पनि हंसपुर नगरपालिकाबाट नागरिकता प्रमाणपत्र लिन आएका थिए।

उनले भने, ‘रवि लामिछानेबाट धेरै अपेक्षा छ तर उहाँको निर्देशन पनि कार्यान्वयन भएको देखिँदैन। काम सिडियोले गराउनुपर्ने हो।’

सेतोपाटीले यसअघि पनि जिल्ला प्रशासन कार्यालयको बेथितिबारे समाचार लेखेको थियो। सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले गल्ती गर्ने कर्मचारीलाई कारबाही गर्ने बताएका थिए।

कार्यालयमा जति नै बेथिति भए पनि र सेवाग्राहीले जति नै हैरानी व्यहोर्नु परे पनि कुनै कर्मचारीमाथि पनि कारबाही भएको छैन।

‘सबैलाई मेरो काम तुरुन्तै भइहालोस् भन्ने लाग्छ तर फस्ट कम फस्ट सर्विस (पालोअनुसार काम) हुन्छ,’ भण्डारीले भने, कागजात पुर्‍याएर आउनेको पालोअनुसार काम हुन्छ। जसको पुगेको छैन उसलाई लेखेरै दिएको हुन्छ।’

यसपटक पनि भण्डारीले कर्मचारीले गल्ती गरेको भए कारबाही गर्ने बताए।याे समाचार सेताे पाटीमा राेहित महताेले लेखेको छ ।

प्रतिक्रिया





Top