होलीका सामग्रीमा भारतकै भर

मधेशपाटी अनलाइन     २०७९ फाल्गुन २३, मंगलवार १४:५३ बजे मा प्रकासित


जनकपुरधाम । विभिन्न धार्मिक पर्व, घर मन्दिरमा नित्य पूजा गर्दा दैनिक प्रयोग हुने र त्यो भन्दा पनि बढी होली पर्वमा प्रयोग हुने अबिरलगायत रंगको उत्पादन स्वदेशमा नहुँदा वार्षिक करोडौं रुपैयाँ विदेशीने गरेको छ । विशेष गरी कुनै एक सिजनमा मात्र अत्यधिक बिक्री हुने भएका कारणले नेपालमा अबिरलगायत केसरी र अन्य विभिन्न रंगका धुलोहरुको उत्पादन हुँदैन ।

त्यसैले धार्मिक उत्सव तथा होली पर्वका लागि मात्रै वार्षिक करोडाैं रुपैयाँको अबिरहरु भारतबाट आयात हुने गरेको व्यवसायीहरु बताउँछन् । नेपालमा होलीमा प्रयोग हुने होलीका सामग्रीहरु यहाँ नबन्ने भएकाले सबै विदेशी सामग्रीमा भर पर्नु परेको हो ।

 

अबिरलगायत विभिन्न रंग, पिचकारी, बेलुन सबै भारतबाट आयात हुँदै आएका छन् । “पछिल्ला केही वर्षदेखि होलीका लागि प्रयोग हुने पिचकारी, बेलुन, फोमलगायत विभिन्न रंगहरु चीनबाट भारत हुँदै नेपाली बजारमा ल्याएर बिक्री हुने गरेको छ” व्यवसायीले भने । अहिले भारतीय पिचकारी बेलुनको तुलनामा चीनबाट आयात गरिएका सामान आकर्षक र टिकाउ हुने भएकाले उपभोक्ता चिनियाँ सामानसमेत खोजी खोजी लाने गर्दछन् ।

बजारमा भारतीय र चिनियाँ पिचकारीको मूल्य ५० रुपैयाँदेखि १ हजार रुपैयाँमाथि सम्मका छन् । उता सीमावर्ती भारतीय बजारमा नेपालमा भन्दा केही सस्तो पर्ने भएकाले उपभोक्ताहरु होलीका सामग्री किन्नका लागि उतै जाने गरेको समेत पाइएको छ । धनुषा सीमावर्ती भारतीय बजार जयनगर दुहबी नाकामा अबिरलगायत विभिन्न रंगहरु प्रतिकेजी ५० रुपैयाँसम्म सस्तो पर्ने भएकाले उपभोक्ता भारतीय बजारतिर जाने गरेका हुन् ।

नेपालमा अबिर, केसरी, पिचकारी, बेलुनको उत्पादन नहुने भएकाले भारतबाट आयात गर्नुपर्ने बाध्यता नेपाली व्यापारीमा रहेको छ । अबिर, केसरीलगायत अन्य रंगको माग नेपालमा पर्व र होलीका समयमा मात्र हुने गरेको छ । नेपालमा यी सामग्री नपाइने हुँदा भारतबाट आयात गरी नेपालमा बिक्री हुने गरेको छ । प्राय व्यवसायीले भारतको दिल्लीबाट अबिरलगायतका सामग्री ल्याएर बिक्री गर्दै आएका छन् ।

पिचकारी, अबिर, रंगलगायतका बस्तु होली पूर्णिमाका साथै धार्मिक पर्वहरुमा धेरै प्रयोग हुने भएकाले एक सिजनमा मात्र चल्ने व्यापारका लागि उद्योगीहरु अबिरलगायतका रंगहरु उत्पादन गर्ने उद्योग खोल्न इच्छुक नदेखिएको हुन सक्ने बताए ।

“एक सिजनमा मात्र त्यो पनि दुई तीन दिन मात्र खपत हुने सामान उत्पादन गर्ने उद्योग सञ्चालन गरी व्यवसायीले जोखिम बहन गर्न चाहँदैनन्” उनले भने, “त्यसैले पनि यो उद्योगमा आकर्षण नआएको हो ।”

प्रतिक्रिया





Top