बारा वीरहरुको भूमि हो, फिरँगी उम्मेदवारलाई जवाफ दिएर पठाउनुपर्छ : डा. सिके राउत

न्यूज डेस्क     २०७९ चैत्र ९, बिहीबार १२:२४ बजे मा प्रकासित


बारा । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले बारामा हुने उपनिर्वाचनमा बाहिरी उम्मेदवारलाई भगाउनुपर्ने बताएका छन् ।

बाराको कलैयास्थित सिद्धेश्वर संस्कृत माविमा जनमत पार्टीले बुधबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राउतले उपचुनावमा फिरँगी उम्मेदवारलाई जवाफ दिएर पठाउनुपर्ने बताए।
उनले बाराको निर्वाचन क्षेत्र नम्बर २ मा आउँदो बैशाखमा हुन लागेको उपनिर्वाचनमा उपेन्द्र यादवविरुद्ध उम्मेदवारीको उदघोष पनि गरे ।
सो क्षेत्रबाट प्रतिनीधिसभामा निर्वाचित भई हाल उपराष्ट्रपति भएका रामसहाय प्रसाद यादवको सिट खाली भएपछि जनता समाजवादी पार्टी (जसपा) नेपाल का अध्यक्ष उपेन्द्र यादवले सो ठाउँबाट उम्मेदवारीको घोषणा गरेका छन् ।

पार्टी प्रवेशको क्रममा डा. राउतले भने, –“बारा जिल्लामा कोई माईका लाल पैदा भएको छैनन की बाहिरको फिरँगी उम्मेदवार बनेर आउँछ ?, बारामा कोई राजनीतिक कार्यकर्ता, नेता, उम्मेदवार छैनन की बाहिरको उम्मेदवार आएर चुनाव लडछ ? बारा जिल्लावासीहरुको लागि चुनौति छ की यहाँ कोई माईका लाल छन कि छैनन जो बाहिरको उम्मेदवारलाई हराएर पठाउँछ । यो जुन बाराको सिम्रोनगढ राज्य थियो त्यो वीरहरुको भूमि हो, फिरँगी उम्मेदवारलाई जवाफ दिएर पठाउनुपर्छ ।”

जनमत पार्टी यहाँ नजितेसम्म परिवर्तन नहुने उनले बताए । ‘पार्टीबाट उम्मेदवारी कसैले रोक्न सक्दैन्,’ उनले भने । निर्वाचन आयोगले उपनिर्वाचनको मिति घोषणा गरेसँगै राउतले बारा आएर यस्तो बताएका हुन् ।

उपेन्द्र यादव आफैं मन्त्री बन्ने लालसाले पार्टीबाट कसैलाई सरकारमा पठाउन नचाहेको उनको आरोप छ । उनले आफूलाई सत्ता गठबन्धनभित्र उपप्रधानमन्त्रीको अफर आइरहेको खुलासासमेत गरे । ‘मलाई उपप्रधामन्त्रीको ‘अफर’ आएको छ । तर इन्कार गरेको छु,’ उनले भने, ‘सरकार बनेको तीन महिनाको अवधिमा गठबन्धनका कुनै पार्टीका शीर्ष नेताले मधेसको बारेमा चर्चा र चिन्ता गरेका छैनन् ।’

प्रतिक्रिया





Top