जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामबाट अनलाइन ठगीको धन्दा गरेको संलग्न २३ जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पिडारी चोकस्थित बर्गर हाउसको छेउबाट सोमबार साँझ पक्राउ परेका छन ।
उनीहरुले पिडारी चोकमै एउटा फ्ल्याट भाडामा लिएर अनलाइन ठगीको काम गरिरहेको सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।

भारतलगायतका नागरिकलाई आफ्नो जालमा पार्नका लागि विभिन्न एपमार्फत पुरुष तथा महिलालाई हनी ट्रयापजस्ता विभिन्न प्रलोभन दिएर नग्न तस्बिरहरु बनाई ब्ल्याकमेल गर्ने, ऋण लिनका लागि प्रोत्साहन गर्ने र हजारदेखि लाखौँ रुपैयाँसम्म असुल्नका लागि विद्युतिय कारोबारमार्फत धन्धा सञ्चालन गर्दै आएको यस सञ्जाललाई विभिन्न विद्युतीय उपकरणसहित पक्राउ गरिएको डिएसपी गौतमले जानकारी दिए ।उनीहरुले विभिन्न एपमार्फत हनिट्रैप जस्ता धन्धा गर्दै आएको डीएसपी गौतमले बताएका छन् । पक्राउ पर्नेमा १४ पुरुष र ९ जना महिला रहेको उनले जानकारी दिए । उनीहरुले अवैधरुपमा विद्युतीय कारोबारमार्फत एक देशमा बसेर अर्को देशका नागरिकलाई विभिन्न एप बनाएर नग्न तस्बिरहरु आदान प्रदान गरी ठगी गर्दै आइरहेको प्रहरीले जनाएको छ ।
उनीहरुले सञ्चालन गरेको कारोबारस्थलबाट प्रहरीले करिब ३५ थान डेस्कटप कम्प्यूटर, २० भन्दा बढी एन्ड्रोयड मोबाइललगायतका विद्युतीय उपकरणसमेत बरामद गरेको छ ।
उनीहरुले विगत ३ महिनादेखि दिलाजी आइटी कम्पनी काठमाडौँ–८ को नाममा जनकपुरधाममा अवैधरुपमा यस्तो कारोबार सञ्चालन गरिरहेका थिए ।
काठमाडौंमा यस्ता गिरोह पक्राउ पर्न थालेपछि उनीहरु जनकपुरधाममा आएर विदेशीलाई टार्गेट गरि अवैध धन्धालाई अगाडी बढाउँदै आएको थियो ।
जनकपुरधाममा मुख्यरुपमा पर्साको पकहा मैनपुर–५ बस्ने सत्यानन्द राम र धनुषाको सबैला घर भई जनकपुरधाममा बस्दै आएकी सञ्जु साहले यस गिरोहलाई अवैधरुपमा सम्हाल्दै आएको खुलेको छ ।
यस गिरोहमा काम गर्नेहरु प्रायः २० देखि २८ वर्ष उमेर समूहका युवायुवतीहरु रहेका छन् । आधा दर्जनभन्दा बढी युवतीहरुले सेवाग्राही खोज्ने र आफ्नो जालमा पार्नका लागि विभिन्न प्रलोभन दिने र पछि तस्विर आदानप्रदान मार्फत नग्न फोटो भिडियो बनाएर ब्लैकमेल गर्दै रकम उठाउने कार्य जनकपुरधामबाट सञ्चालन हुँदै आएको थियो ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान कार्य जारी रहेकाले विस्तृत विवरण पछि सार्वजनिक गरिने धनुषा प्रहरीले बताएका छन ।








प्रतिक्रिया