मधेश प्रदेश : ज्याला माग्दा मजदुरलाई चोकमा बाँधेर कुटपिट गरी ठेकेदारले कालो मोसो

न्यूज डेस्क     २०७९ चैत्र २९, बुधबार १०:२८ बजे मा प्रकासित


जनकपुरधाम । महोत्तरीमा एक निर्माण व्यवसायीले काम गरेको ज्याला माग्दा मजदुरलाई अमानवीय व्यवहार गरेको घटना सार्वजनिक भएको छ ।

महोत्तरीको लोहारपट्टी नगरपालिका वडा नम्बर ६ का २१ वर्षीय मोबारक नदाफमाथि दुर्व्यवहार गरिएको हो ।

स्थानीय निर्माण व्यवसायी ३५ वर्षीय कृष्ण मिश्रले उनीमाथि कुटपिटसहित अमानवीय व्यवहार गरेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।

गत फागुन २३ गते बिहान नदाफलाई ज्यालाका लागि बोलाएर कुटपिटसहित चोकको विद्युत पोलमा पाता कसेर, केस मुण्डन गरी मोसो दलेर अमानवीय व्यवहार गरेका हुन् । प्रहरीले मिश्रलाई घटनाको भोलिपल्ट पक्राउ गरेको छ ।पटक-पटक ज्याला माग गर्दा नदिएपछि उनले काम गर्दैगर्दा लगेको औजार लगेका थिए ।

उनीमाथि अमानवीय अपमानजनक व्यबहार कसुरमा मुद्दा चलाएको डिएसपी गिरीले बताए ।

मुस्लिम धर्माम्बलम्बीको अहिले रमजान (रोजा) चलिरहेको छ । पीडित परिवारका अनुसार रमजान मनाउन निर्माण व्यवसायी मिश्रसँग काम गरेको ज्याला नदाफले मागरेका थिए ।

 

औजार लिएर आउनु पैसा दिन्छु भनेर शिव आश्रममा बोलाएर चोरीको आरोप लगाउँदै चोकमा लगेर अमानवीय व्यवहार गरेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

पीडितले जिल्ला प्रहरी कार्यालयमा मिश्र लगायतमाथि किटानी जाहेर दिएका छन् । अमानवीय अपमानजनक व्यवहार कसुरमा पाँचवर्षसम्म जेल सजाय हुने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया





Top