जनकपुरधाम । जनकपुरधामको न्यूरो हस्पिटलमा उपचार खर्च तिर्न नसक्दा ३९ दिनदेखि बन्धक बनेकी मन्तोरियादेवी राय मुक्त भएकी छन् ।
उनलाई सबैला नगरपालिकाका मेयर कारीराम यादवले जिल्ला प्रशासन कार्यालय धनुषासँग समन्वय गरी बुधबार बन्धकमुक्त गराएका हुन् ।
मेयर यादवले आफैँ अस्पताल पुगेर उनलाई बन्धनमुक्त गराइ घर पुर्याएका हुन् । एकलाख रुपैयाँ नगरपालिकाले र बाँकी रकम सहायोगीहरुबाट संकलन गरी चुक्ता गर्ने शर्तमा उनलाई बन्धकमुक्त गरिएको मेयर यादवले बताए ।
उपचार खर्च तिर्न नसक्दा सबैला नगरपालिका ९ की मन्तोरिया ३६ दिनदेखि बन्धक रहेको समाचार अनलाइनखबरमा सार्वजनिक भएपछि स्थानीय सरकार तथा प्रशासनको ध्यानाकर्षण भएको थियो ।
गत सोमबार नै सबैलाका मेयर यादव र जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत किरणकुमार मिश्र उनको अवस्था बुझ्न अस्पताल पुगेका थिए ।
मंगलबार सबैला नगरपालिका कार्यपालिकाको बैठक बसेर एक लाख रुपैयाँ नगरपालिकाले उपचार खर्च उपलब्ध गराउने र बन्धनमुक्त गराउन पहल गर्ने निर्णय गरेको थियो ।

बुधबार मेयर यादव जिल्ला प्रशासन कार्यालय धनुषामामा पुगेर मन्तोरियालाई बन्धकमुक्त गराउने विषयमा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीसित छलफल गरेर मुक्त गराएका हुन् ।
भण्डारीले अस्पताललाई तत्कालै फोन गरी बन्धक मुक्त गराउन निर्देशन दिएका थिए । न्यूरो अस्पताल दर्ता बिनै
सञ्चालनमा रहेको समाचार समेत अनलाइनखबरले खुलासा गरेको थियो । अस्पताललाई के गर्ने भन्ने विषयमा पत्र लेखेर जिल्ला प्रशासन कार्यायल धनुषाले सुझाव मागेको छ ।








प्रतिक्रिया