वीरगञ्ज । वीरगञ्जमा शनिबार एउटै बौलाहा कुकुरको टोकाईबाट २० जना भन्दाबढि मानिस घाइते भएका छन् । रातो खैरो रंगको कुकुरले शनिबार दिउँसो १ बजेदेखि शहरको विभिन्न स्थानमा मानिसहरुलाई टोक्दै हिडेको र साँझसम्म नारायणी अस्पतालमा २० जनाभन्दा बढि मानिस उपचारका लागि आएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विदुर शिवाकोटीले बताए ।
दिउँसो १ बजेतिर वडा नम्बर ६ रामटोलस्थित ६ नम्बर गेट अगाडिको सडकमा एक व्याक्तिलाई टोकेको उक्त कुकुरले त्यसपछि पानगल्ली, माइस्थान, घण्टाघर, रानीघाट, छपकैयालगायतका टोलमा पुग्दै सडकमा भेटिएका जोकोहिलाई जथाभावी टोकेर आतंकित बनाएको उनले बताए । उक्त बौलाहा कुकुरको टोकाइबाट घाइते भएका २० जना व्याक्ति उपचारका लागि अस्पतालमा आएको अस्पतालका प्रवक्ता डाक्टर उदयनारायण सिंहले जानकारी दिए ।
सिंहकाअनुसार कुकुरले टोकेर घाइते बनाएका २० जना मध्ये प्राय सबै बालबालिका नै रहेका छन् । कुकुरको टोकाईबाट घाइते भएकामध्ये एक जना छाडेर अरु सबै ३ देखि १२ वर्ष उमेर समूहका बालबालिकाहरु रहेका छन् ।
टोलटोलमा पुगेर मानिसलाई टोकेर घाइते बनाएको उक्त कुकुरलाई साँझ ६ बजेतिर आदर्शनगरस्थित जैन धर्मशाला भवन पछाडिबाट वीरगञ्ज महानगरपालिकाको टोलीले नियन्त्रणमा लिएर व्यवस्थापन गरेको प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिए ।
प्रतिक्रिया