सिरहा, २५ जेठ । सिरहाको मिर्चैयादेखि उदयपुरको कटारी–घुर्मी सडकखण्डमा गुणस्तरहीन काम भएको स्थानीयवासीले आरोप लगाएका छन् । मिर्चैया–कटारी–घुर्मी सडकखण्डमा अहिले कालोपत्रे गर्ने क्रम जारी छ । तर, हालै गरिएको कालोपत्रे गुणस्तरहीन भएको स्थानीयवासीको आरोप छ ।
उनीहरूले कालोपत्रे गरेको केही दिनमै उप्किन थालेको बताएका छन् । विशेष गरी मिर्चैयाको छघरीयास्थित सडकमा कमसल काम भएको उनीहरूले बताएका छन् । ग्रेडर मेसिन राम्ररी नचलाइ कालोपत्रे गरिएको उनीहरूको आरोप छ । यस्तो कालोपत्रे एक दुई वर्ष पनि नटिक्ने उनीहरूको दाबी छ ।
स्थानीयवासीले सडक निर्माणको अवस्था अवलोकन गर्ने क्रममा निर्माण पक्षसँग केहीबेर भनाभन पनि भएको थियो । गुणस्तरहीन काम भइरहेको गुनासो गर्दासमेत ठेकेदार पक्षले कुनै सुनुवाइ नगरेको स्थानीयवासीले बताएका छन् ।
यता, सडक विभागका इन्जिनियर मनोज मण्डलले सडक निर्माणमा कुनै कमी कमजोरी नभएको दाबी गरेका छन् । गाडी चालकहरूले नयाँ बनेको कालोपत्रेमा गाडी चलाइदिँदा केही ठाउँमा समस्या भएको हुन सक्ने उनको भनाइ छ । संघीय सरकारको बजेटमा निर्माण भइरहेको यो सडकको ठेक्का एमएस देव एण्ड सायर अमोद जेभी सिरहाले लिएको छ । यो सडक निर्माणको ठेक्का सम्झौता पाँच करोड ९१ लाखमा भएको थियो ।








प्रतिक्रिया