जनकपुरधाम । मधेशका कुनै पनि अधिकार प्राप्त नभएकाले आन्दोलनका लागि तयार रहन जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले कार्यकर्तालाई निर्देशन दिएका छन् ।
शनिवार पर्सामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले सो निर्देशन दिएका हुन् ।
डा. राउतले मधेश आन्दोलनको माग २२ वटा जिल्लालाई एउटै बनाउने रहेको तर आठ वटा जिल्लामा सीमित भएको भन्दै आन्दोलनको आवश्यकता रहेको धारणा राखे ।
‘हाम्रो कुनै माग पुरा भएको छैन, अहिले नागरिकताको समस्या समाधान भएको भनिन्छ तर त्यो पनि कार्यान्वयन हुन्छ कि हुँदैन भने ठेगान छैन । त्यसैले आन्दोलन गर्न आवश्यक छ’, उनले भने ।
अध्यक्ष राउतले जनमत पार्टी सांसद र मन्त्री बन्न र बनाउनका लागि आएको पार्टी नभएको बताए ।
उनले अरू कुनै पार्टीले एउटा मन्त्रालय पाउने वितिक्कै ती पार्टीका अध्यक्ष नै सरकारमा जान तँछाडमछाड गर्थे भन्दै भने, ‘तर जनमत पार्टीका अध्यक्षले अरूलाई पठाएको छ ।’ आफ्ना लागि पद र पैसा ठुलो नरहेको पनि उनले बताए ।
कार्यक्रममा जसपाबाट करिमा बेगम, उमेश पटेल, किशन पटेल, मनोज यादव, एमालेबाट प्रह्लाद गिरी, जितेन्द्र यादव, लोसपाबाट नेता शशीकुमार मियाँ, दिनेश साह कानु, सुधीरनाथ पाण्डेलगायत जयकुमार मिश्र, वृजकिशोर यादव, प्रमोद यादव, धर्मेन्द्र गुप्ता, छोटेलाल साह तेली, संगिता देवी तिवारी, विनोद साह तेली, भगीरथ साह कानुन, अजित देवान, विकास चौधरी, उमेश ठाकुर, उदय तिवारी, नन्दकिशोर राम, साइद प्रवेज, जाहिद परवेज, श्यामबाबु मण्डल लगायतका विभिन्न पार्टीका नेता कार्यकर्ताहरू पनि जनमत पार्टीमा प्रवेश गरेका छन् ।








प्रतिक्रिया