जनकपुर–जयनगर रेल भंगहासम्म चल्ने, अबदेखि दैनिक ६ पटक आउने र जाने सेवा प्रदान

न्यूज डेस्क     २०८० असार ३१, आईतवार ०८:१७ बजे मा प्रकासित


जनकपुरधाम । जनकपुर–जयनगर रेल आजदेखि महोत्तरी जिल्लाको भंगहासम्म गुड्ने भएको छ । आज बिहान साढे १० बजे भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले उदघाटन गरेपछि रेल भंगहासम्म रेल चल्ने छ ।

कुर्थादेखि भंगहासम्म थप १७ किलोमिटर रेल सेवा आजदेखि संचालन हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए ।

यसअघि पहिलो चरणमा जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरमा रेलसेवा संचाल हुँदै आएको थियो । थप १७ किलोमिटर भएपछि अब महोत्तरीको भंगहादेखि जनकपुर हुँदै जयनगरसम्म ५२ किलोमिटर यात्रा विस्तार हुने छ ।

भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको रेलको थप १७ किलोमिटर भागको निर्माण सम्पन्न भएपछि भारतको इरकन कम्पनी लिमिटेडले नेपाल रेल्वे कम्पनीलाई जेठ १८ गते हस्तान्तरण गरेको थियो ।

ब्रोडगेज दुईसेट रेल १९ चैत २०७८ देखि संचालनमा आएको थियो । सुरुमा एकपटक जनकपुरदेखि जयनगर जाने र आउने सेवा दिँदै आएकोक रेल गत वर्ष मंसिरदेखि दुबै रेल दिनको दुईपटक आउने र जाने गरी सेवा दिइरहेको छ ।

भोलिदेखि थप सेवा विस्तार गरी दैनिक दुबै रेल तीनपटक आउने र जाने सेवा प्रदान गर्ने महाप्रवन्धक झाले बताए । यधपी भंगहा स्टेशन दिनको एकपटक मात्र बिहान जाने र साँझ फर्किने सेवा प्रदान गर्ने जनाएको छ ।

प्रतिक्रिया





Top