काठमाडौं, साउन १८ । वि.सं. २०६० मा काठमाडौँको गौशालास्थित कित्ता नं .८३ को ४–१५–२–० र सोही स्थानको कि.नं. ८५ को ४–१०–०–० क्षेत्रफलको नौ रोपनी नौ आना जग्गा मारवाडी सेवा समितिलाई धार्मिक कार्यको प्रयोजनका लागि उपलब्ध गराउने सम्झौता भएको थियो।
वि.सं. २०६० मा श्री पशुपतिनाथ अमालकोट कचहरी र मारवाडी सेवा समितिबिच पशुपति गौशाला धर्मशाला सञ्चालनका सम्बन्धमा भएको नौबुँदे सम्झौता रद्द भएको छ।
पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बुधबार बसेको बैठकले अमालकोट कचहरी र मारवाडी सेवा समितिबिच भएको सम्झौता रद्द गरी पशुपतिनाथ मन्दिरको स्वामित्वमा रहेको जग्गा फिर्ता ल्याएको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अग्रसरतामा सेवा समितिको कब्जामा रहेको पशुपतिनाथ मन्दिरको जग्गा २० वर्षपछि फिर्ता आएको हो। मन्त्री किराती कोषका अध्यक्षसमेत हुन्।
सम्झौतापत्रमा तत्कालीन अमालकोट कचहरीका तर्फबाट द्वारे कृष्णलाल वैद्य र सेवा समितिका तर्फबाट महासचिव शिवभगवान अग्रवालले हस्ताक्षर गरेका थिए। सम्झौता हुँदा कोषका सदस्यसचिवको जिम्मेवारीमा व्यवसायी वसन्त चौधरी थिए।
सम्झौता अनुसार समितिले अहिले पनि वार्षिक ५१ हजार रुपियाँ पशुपति क्षेत्र विकास कोषलाई बुझाउँदै आएको छ। कोषले बुधबार समितिलाई पत्र लेख्दै सम्झौता रद्द भएको जानकारी दिँदै समयसापेक्ष, उचित र जायज सर्तसहित १५ दिनभित्र सम्झौता गर्न आउन सूचना दिएको छ।








प्रतिक्रिया