सरकार मरिसक्यो’ भन्दै आरतीको परिवारजनले कपाल मुण्डन

न्यूज डेस्क     २०८० भाद्र २३, शनिबार ०७:५१ बजे मा प्रकासित


काठमाडौँ, २३ भाद्र । आरती साहको न्यायका लागि धर्नामा बस्दा लामो समय बित्दासमेत सरकारले बेवास्ता गरेको भन्दै परिवारका सदस्यहरूले कपाल मुण्डन गरेका छन् । मृतक आरतीकाे परिवारका सदस्य करिब तीन महिनादेखि माइतीघर मण्डलामा धर्ना दिँदै आएका छन् । तर, सरकारले आफूहरूलाई बेवास्ता गरेको उनीहरूको आरोप छ ।

‘आरती साहको परिवारको लागि यो सरकार मरिसकेको छ र हिन्दू धर्मअनुसार मरिसकेको मान्छेको नौकेस श्राद्ध गर्ने परम्परा’ अनुसार कपाल मुण्डन गरिएको धर्नामा बसेका एक सदस्यले बताए ।

धनुषाको मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वर मौवाही घर भई जनकपुरधाम–९ थापा चोकमा रहँदै आएकी २२ वर्षीया आरतीकुमारी साहको दाइजोका कारण हत्या गरिएको माइती पक्षको आरोप छ ।

गत जेठ ७ गते साँझ जनकपुरधाम उपमहानगरपालिका ९ थापाचोक बस्ने मोतीबाबु साहका श्रीमती २४ वर्षीय आरतीको रहस्यमय मृत्यु भएको थियो । धनुषा प्रहरीले हत्यारालाई जोगाउन खोजेको माइत पक्षको आरोप छ । निष्पक्ष अनुसन्धान र दोषीमाथि कारबाहीको माग परिवारजनको छ । पीडित परिवारलाई उल्टै धनुषाका एसपी विश्वराज खड्का र डीएसपी वेदप्रसाद गौतमले कुटपिट गरेको भन्दै उनीहरूलाई तत्काल कारबाही गर्न पनि उनीहरूले माग गरेका छन् ।

उनीहरूले एसपी र डीएसपीलाई निलम्बन गरी कारबाही गर्नुपर्ने, जिल्ला न्यायाधिवक्ता, पोस्टमार्टममा संलग्न डाक्टरमाथि अनुसन्धान गरी कारबाही गर्नुपर्ने, हत्याको सीआईबीद्वारा जाँचलगायत ६ सुत्रीय माग राखेका छन् ।

नगराइन नगरपालिका–८ खिरखिरिया माइती भएकी आरतीको उनका श्रीमान् मोतीबाबु साह, ससुरा मदनमोहन साह, सासु रेणु देवी साह र देवर रवि साह मिलेर घाँटी थिची हत्या गरेको मृतककी आमाको आरोप छ । आरतीको विवाह दुई वर्ष अगाडि भएको थियो । दहेजको थप रकम नदिँदा पटक पटक आरतीलाई उनीहरूले कुटपिट गर्दै शारीरिक र मानसिक तनाव दिँदै आएको पनि मृतकका आमाको आरोप छ । यता, केटा पक्षले आफूहरूले हत्या नगरेको दाबी गर्दै आएको छ । आरतीको हत्या आरोपमा पक्राउ परेका श्रीमान् र ससुरा पुर्पक्षमा थुनामा छन् ।

प्रतिक्रिया





Top