‘निनिया रानी’ मैथिली लोरी गीत चर्चामा

मधेशपाटी अनलाइन     २०८० भाद्र ३१, आईतवार १९:३३ बजे मा प्रकासित


जनकपुरधाम । यही शुक्रबार भदौ २९ (सेम्टेम्बर १५) का दिन मैथिली भाषाको ‘निनिया रानी’ गीत सार्वजनिक भएको छ।

‘निनिया रानी’ गित भिडियो बेजोड युट्यूब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

उक्त गित भिडियो भारतको ६३ औँ राष्ट्रिय फिल्म पुरस्कारबाट पुरस्कृत मैथिली फिल्म ‘मिथिला मखान’ र हालै रिलीज भएको मैथिली फिल्म ‘ज्याक्सन हल्ट’का निर्देशक नितिन नीरा चन्द्रले निर्देशन गरेका हुन्। चन्द्र भोजपुरी भाषी भए पनि उनी मैथिली भाषामा सिनेमाको निकै संभावना रहेको बताउँछ। तसर्थ उनले दुईवटा फिल्म मैथिली भाषामा बनाएका छन् भने ज्याक्सन हल्ट २ को नेपालमै सुट गर्ने कुराको जानकारी प्राप्त भएको छ।

‘निनिया रानी’ मा बलिउडमा ठूलो पर्दाको आधा दर्जन फिल्ममा आफ्नो सङ्गीतले स्थापित, सफल र मैथिली सङ्गीत क्षेत्रका सुप्रसिद्ध सङ्गीतकार एवं गायक जनकपुरका प्रवेश मल्लिकले धुन भरेका हुन्। मैथिली सङ्गीत क्षेत्रका चर्चित युवा गीतकार विद्यानन्द बेदर्दीले रचना गरेका हुन् भने मैथिली सङ्गीतमा बाल्यकाल देखि नै स्थापित प्रसिद्ध गायिका नेहा प्रियदर्शनीले स्वर दिएकी हुन्।

यस म्यूजिक भिडियोमा ‘मिथिला-काकी’ को रूपमा सुपरिचित रहेकी कलाकार टेस्सा प्रियदर्शनी, बालकलाकारहरू आध्या सिंह र धैवत बैरोलियाको अभिनय रहेको छ।

बलिउड अभिनेत्री नीतु चन्द्र, नितिन नीरा चन्द्र र शशांक गुप्ताले यस गीत भिडियोलाई निर्माण गरेका छन्।

ईडिट, कलरिङ्ग र पोस्टर डिजाइन निर्देशक चन्द्र, डायरेक्सन ऑफ फोटोग्राफी कुन्दन आर्याले गरेका छन् भने म्यूजिक पार्टनरहरू ‘म्यूजिक मैथिली’ र ‘प्रवेश मल्लिक प्रोडक्शन’ रहेका छन्।

उक्त गीतमा आमाले सन्तानको शान्ति, सुरक्षा, सद्बुद्धि एवं प्रगतिको लागि प्रेम गीत गाएकी छिन्। बच्चा ठूलो भएपछि जीवनमा सम्पूर्ण यश प्राप्ति भए ता पनि आमाले आजीवन रूपमा बच्चाको ओठबाट ‘मातृभाषा मैथिली’ चन्दन झैँ मगमगाएको हेर्न चाहन्छिन्। युट्यूबमा प्रतिक्रियाहरू हेर्दा श्रोता-दर्शकलाई निकै रुचाई रहेका देखिन्छ र सामाजिक संजालमा ‘निनिया रानी’ बारे निकै चर्चा भई रहेको छ।

ब्याक टू ब्याक मैथिली गीतहरू बनाउँदै आएको सङ्गीतज्ञ प्रवेश मल्लिकले मैथिली मौलिक सङ्गीत क्षेत्रमा कलाकारहरूको सक्रियता कम र नक्कल तर्फ बढि अग्रसर रहेको बताएको छ। श्रोता-दर्शकले पनि त्यसलाई आँखा छोपी अमल गरि रहेका छन्। यो मैथिलीको लागि खतराको संकेत हो। बच्चालाई निदाउनका लागि र सुतेका श्रोता-दर्शक र समाजलाई जागृत गर्न निनिया रानी सौगात रहेको भनेको छ।

प्रतिक्रिया





Top