जनकपुरधाम । जनकपुरधाममा हुने आजदेखि नेकपा एमालेको प्रथम मधेश प्रदेश अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । जनकपुरधामको महेन्द्र नारायण निधि संस्कृति केन्द्रको भवनमा आजदेखि हुने अधिवेशनको तयारी पूरा भएको एमाले प्रदेश अध्यक्ष रामअवतार यादवले जानकारी दिए ।महेन्द्र नारायण निधि संस्कृति केन्द्रको भवनको प्रांगणमा अधिवेशनको लागि मञ्च तथा पण्डाल लगाएको छ ।
आज पार्टी अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन उद्घाटन गर्ने तथा नेताहरूले सम्बोधन गर्नेकार्यक्रम रहेको छ ।यादवका अनुुसार ७ हजार नेता कार्यकर्ता अट्ने क्षमताको पण्डाल बनाइएको हो ।
अधिवेशनका लागि मधेश प्रदेशको आठवटै जिल्लाबाट खुल्ला तथा विभिन्न क्लस्टरबाट १ हजार २७ प्रतिनिधि छनोट गरिएको छ ।
उनका अनुसार व्यवस्थित रूपमा अधिवेशन सम्पन्न गर्नका लागि १०५ जना स्वयंसेवक परिचालन गरिने छ । प्रतिनिधि तथा नेताहरू बस्न २२ वटा होटल भाडामा लिइएको छ ।
अधिवेशनमा ४० लाख रुपैयाँभन्दा बढी खर्च हुने एमालेको अनुमान छ, जसका लागि प्रतिनिधिहरूबाट दुई हजार रूपैयाँ रकम संकलन गरिने छ । यसैगरी प्रदेशसभा सदस्यहरुबाट १० हजार, पालिका प्रमुखबाट २५ हजार र पालिका उपप्रमुखहरुबाट १० हजार रूपैयाँका दरले आर्थिक सहयोग संकलन गरिएको प्रदेश अध्यक्ष यादवले बताए ।








प्रतिक्रिया