चोरी पैठारीको कम्प्युटर, ल्यापटप तथा कम्प्युटरका पार्टसहरू बरामद

न्यूज डेस्क     २०८० आश्विन २९, सोमबार १०:३६ बजे मा प्रकासित


वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साबाट सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा विशेष सूचनाको आधारमा २०८० असाेज २७ गते पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका वडा नं.५ स्थितमा रहेको A.D.Computer Suppliers का सञ्चालक अजय सिंहले आफ्नै चार तल्ले पक्की घरको भुइँ तल्लामा भन्सार छली चोरी पैठारी गरी ल्याएका कम्प्युटर, ल्यापटप तथा ईलेक्ट्रोनिक्स सामानहरू अनाधिकृतरूपमा भण्डारण गरेको अवस्थामा प्रहरीले बरामद गरेकाे छ ।

 

जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहत वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको संयुक्त प्रहरी टोलीले कानूनी रितपुर्‍याई खानतलासी गर्दा निजको घरको भुई तल्लाकाे कोठाबाट यहाँ उल्लेखित परिमाणको कम्प्युटर, ल्यापटप, मोनिटर, ईलेक्ट्रोनिक सामानहरू रू.५१,२६,७००।– (एकाउन लाख छबिस हजार सात सय) बराबरका सामानहरू भन्सार छली चोरी पैठारी गरी ल्याएको अवस्थामा बरामद गरेकाे थियाे ।

 

प्रज्ञापनपत्र विल बिनाको सामानहरू बरामद गरी आवश्यक कारवाहीको लागि मिति २०८० असाेज २८ गते राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएकाे छ ।

प्रतिक्रिया





Top