गृहमन्त्री श्रेष्ठ बिरामी हुँदा प्रहरीको बढुवा रोकियो

न्यूज डेस्क     २०८० कार्तिक १५, बुधबार २१:५५ बजे मा प्रकासित


काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ बिरामी हुँदा नेपाल प्रहरीको नियमित काम रोकिएका छन् । माथिल्लो तहमा बढुवा पनि प्रभावित बनेको छ । नेपाल प्रहरी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) का तीन पद रिक्त छन् ।

यौन दुर्व्यवहार काण्डमा परेका एसएसपी योगबहादुर पालले पनि राजीनामा दिएकोले चार जनाको रिक्त हुँदैछ । रिक्त पदमा बढुवाको प्रक्रिया सुरु हुन सकेको छैन ।

आफ्नै महिला प्रहरीलाई उनले रात बिताउने प्रस्ताव राखेको घटनामा पालमाथि कारबाही प्रक्रिया अघि बढेको थियो । कारबाही छल्न पालले राजिनामाको विकल्प रोजेका थिए । तर, गृहमन्त्रीले उनको राजिनामा रोकेका छन् ।

प्रहरीमा असोज तेस्रो सातासम्म कार्यसम्पादन मूल्याङकनको समय हुन्छ । जून अवधि सकिएको छ । प्रहरी नियमावलीमा पद रिक्त भएको तीन महिनाभित्र पदपूर्ति गरिसक्नुपर्ने प्रावधान छ । तर, बढुवाको भागबन्डा नमिल्दा लामो समय रोकिने गरेको छ ।

अहिले पनि उच्च पदमा बढुवाका लागि चलखेल सुरु भइसकेको छ । गृहमन्त्री स्वच्छ भएसँगै बढुवाबारे छलफल गरेर अघि बढाउन लागिएको छ । समयमा बढुवा नहुँदा प्रहरी अधिकारीको करिअर भने प्रभावित बनेको छ ।

दुई साताअघि चीन भ्रमणका क्रममा गृहमन्त्री श्रेष्ठलाई हृदयघात भएको थियो । उपचारपछि उनी चिकित्सकको निगरानीमा आराम गरिरहेका छन् । जसकारण मन्त्रालय जान सकेका छैनन् ।

प्रतिक्रिया





Top