काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सोमबारबाट एमडीएमएस प्रणाली कार्यान्वयनमा ल्याउने भएको छ । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) प्रणाली कार्यान्वयनमा आएलगतै प्राधिकरणमा दर्ता नभएका मोबाइल फोनहरू ब्लक हुने छन् । प्रणालीमा दर्ता नभएका फोनहरू क्रमशः ब्लक हुने प्राधिकरणले जनाएको छ ।अब अवैध वा गैरकानुनी रूपमा भित्र्याइका मोबाइलमा कुनै पनि सिमकार्ड चल्ने छैन ।
प्राधिकरणले गत कात्तिक ४ गते मात्रै एक सूचना जारी गर्दै १५ दिनभित्र सेवाग्राहीहरूलाई एमडीएमएसमा दर्ता नभएका मोबाइलहरू दर्ता गर्न भनेको थियो । सूचना जारी गरेको मितिबाट १५ दिनभित्र प्रणालीमा दर्ता नभएका मोबाइल ह्यान्डसेटहरूमा नियमानुसार मोबाइल दूरसञ्चार सेवा अवरुद्ध हुने समेत जनाएको थियो । प्राधिकरणले नेपाल भित्रिने हरेक मोबाइलको आइएमइआई नम्बर दर्ता गर्न अनिवार्य गरेको हो ।
वैध रूपमा अर्थात् सरकारलाई भन्सार तिरेर भित्र्याइएका फोनको आईएमईआई नम्बर प्राधिकरणमा दर्ता गरिएको हुन्छ। अनाधिकृत रूपमा नेपालमा भित्रिएका ५० लाख हाराहारी फोनसेट ब्लक गर्ने तयारीमा नेपाल दूरसञ्चार प्राधिकरण लागेको छ । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालका अनुसार अनधिकृत रूपमा नेपाल भित्रिएका एक लाख ५० हजार रुपैयाँभन्दा महँगा फोनहरू आजैदेखि ब्लक गरिँदैछ ।
फोन एमडिएमएसमा दर्ता भएको छ वा छैन भन्ने एमडिएमएसको आधिकारिक पोर्टल https://mdms.nta.gov.np/ मा गएर हेर्न सकिन्छ। यसको लागि आवश्यक मोबाइलको आइएमइआई नम्बर किप्याडमा गएर *#०६# डायल गरेर पत्ता लगाउन सकिन्छ। अथवा तपाईंको ह्यानडसेट नयाँ छ भने त्यसको आइएमइआई नम्बर प्राधिकरणको वेबसाइट https://eir.nta.gov.np मा गएर दर्ता गर्न सकिन्छ।








प्रतिक्रिया