महोत्तरीमा गएराति पेस्तोल, खुकुरी, रड देखाएर डाकाहरूको समूहले ५० लाखभन्दा बढीको लुटपाट

न्यूज डेस्क     २०८० कार्तिक २१, मंगलवार ०६:०१ बजे मा प्रकासित


महोत्तरी । महोत्तरीमा डाकाहरूको समूहले ५० लाखभन्दा बढीको लुटपाट गरेको छ । गएराति जलेश्वर–८ रतवारामा डाकाहरूको समूहले जयकिशोर चौधरीको घरमा लुटपाट गरेको हो ।

पेस्तोल, खुकुरी, रड र अन्य हतियारसहित प्रवेश गरेका नकाबधारी पाँच डाकाको समूहले परिवारका सबै सदस्यलाई नियन्त्रणमा लिएर लुटपाट गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिएका छन् । उनीहरूले चौधरीका साथै उनकी पत्नी सीमा, बुवा भुवनेश्वर र आमा शैलदेवी चौधरीलाई पेस्तोल देखाउँदै सबैलाई भान्सा कोठामा बन्द गरिदिएका थिए ।

डाकाहरूले दराज, बक्सालगायत तोडफोड गरी लाखौँको सुन, चाँदी र नगद लुटपाट गरेका छन् । डाकाले गरेको आक्रमणबाट चार जना घाइतेसमेत भएका छन् ।

डाकाहरुले चौधरीको घरबाट रू एक लाख नगद, ४० तोला बढी सुनका गरगहना, अढाई किलो चाँदीका गरगहना, एक लाख ७५ हजार मूल्य बराबारको मोबाइल फोन मोबाइल १ थान गरी ५० लाख बढी लुटपाट गरेका छन्।

अस्पतालमा उपचाररत चौधरीका बुवा भुवनेश्वरको टाउकोमा आठ वटा टाँका लगाइएको छ भने अन्यको पनि टाउकोमा चोट लागेको प्रहरी उपरीक्षक मल्लले बताए।

प्रतिक्रिया





Top