सशस्त्र प्रहरीले अबैध १२ लाख मुल्य बराबरको सामान बरामद

न्यूज डेस्क     २०८० कार्तिक २१, मंगलवार ११:५१ बजे मा प्रकासित


जनकपुरधाम । अबैध चोरी निकासी नियन्त्रणामा खटिईरहेको सशस्त्र प्रहरी बल नेपालले धनुषा जिल्लाको जनकनन्दनी गाउँपालिका वडा नं. १ ईनर्वा स्थित अड्डा टोलईलाकाबाट भारी मात्रामा कपडा बरामद गरेको छ ।

 

धनुषा जिल्ला स्थित सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण हे.क्वा. धनुषाका गणपति सशस्त्र प्रहरी उपरिक्षक दिनेश मल्लको सक्रियतामा सशस्त्र प्रहरी बल नेपालप्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुर मातहत बि.ओ.पि. ईनर्वाबाट विशेष सुचनाका आधारमा खटिएको टोलिले कार्तिक २० गते राती ११ बजेको समयमा भारतबाट भन्सार छली तीन वटा मोटरसाईकलमा राखी नेपाल तर्फ ल्याउँदै गरेको अन्दाजी ३ लाख ७५ हजार मुल्य बराबरको कपडा र कपडा ल्याउन प्रयोगगरेको अन्दाजी ४ लाख ५० हजार मुल्य बराबरको मोटरसाईकल समेत बरामद गरेको हो ।

 

साथै सोही रात सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण हे.क्वा. धनुषाबाट खटिएको गस्ती टोलिले जनकपुर स्थित महाविर चोकबाट २ वटा मोटरसाईकलमा अबैधरुपमा ल्याउँदै गरेको अन्दाजी २ लाख मुल्य बराबरको लत्ताकपडा र कपडा ल्याउन प्रयोग गरेको अन्दाजी २ लाख मुल्य बराबरको मोटरसाईकल समेत बरामद गरेकोछ ।

सशस्त्र प्रहरीको गस्ती टोलीलाई देखे पश्चात तस्करहरु मोटरसाईकल र सामान छाडी भागेका थिए । उक्त कपडा र मोटरसाईकल गरी जम्मा १२ लाख २५हजार बराबरको बरामद सामान आवश्यक कारबाहीको लागि जनकपुर भन्सार कार्यालयमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण हे.क्वा. धनुषा तथा गण मातहत कार्यालयहरुले चालु आर्थिक वर्षको कार्तिक महिनामा मात्रै ६० लाख भन्दा बढी मुल्य बराबरको अबैध सामान तथा सामान ओसार पसारमा प्रयोग गरिएका सवारी साधनहरु बरामद गरी आवश्यक कारवाहीको लागि जनकपुरधाम भन्सार कार्यालयमा पठाएका छन् ।

प्रतिक्रिया





Top