जकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरमा दुई वर्षदेखि अवैधरुपमा संचालनमा रहेको जनकपुर न्यूरो हस्पिटलमा लापरबाहीले पुनः चारवर्षीय बालकको मृत्यु आरोप लागेको छ । हस्पिटलले उपचारमा लापरबाही गर्दा बालकको मृत्यु भएको परिवारजनको आरोप छ ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ६ मालटोल बस्ने विक्रम कालिकोटेका ४ वर्षीय छोरा जेम्स कालिकोटेको मृत्यु भएको हो ।मृतक परिवार घटनाको छानविन, दोषी अस्पतालमाथि कारिबाही, क्षतिपुर्तिको माग गर्दै हस्पिटल अगाडी धर्ना बसेका छन् ।
मृतक बालकका मामा सुनिल परियारका अनुसार बुधबार बिहान बालकले एक्कासी बान्ता गरेका थिए । रुघाखोकी जस्तो देखिएर स्वास्थ्यमा समस्या देखिएपछि बाल रोग विशेषज्ञ डा. शशीभुषण ठाकुरको क्लिनिकमा ल्याएका थिए । त्यहाँबाट डा. ठाकुरले आफू कार्यरत्त रहेको न्यूरो हस्पिटलमा उपचारको लागि भर्ना गर्नुपर्ने सुझाव दिए ।
बालबकलाई हिजो नै सो हस्पिटलमा भर्ना गरिएको थियो । निको भयो भनेर हस्पिटलले आज बिहान १० बजेतिर डिस्चार्ज गरेरको थियो । निस्किने बेला अचानक बालकले जोडले श्वाँस फालेर चिकिस्त भएपछि पुनः उपचार गर्दा तुरन्तै मृत्यु भएको उपचारका लागि कुरुवा आएका छिमेक मनिषकुमार कर्णले बताए ।
‘चिकित्सकले पिसावमा इन्फेक्सन छ भनेको थियो । ठीक भइहाल्छ भनेर डिस्चार्ज गरिदियो । डिस्चार्ज भएर तल गेडमा आइसकेपछि बालकले एकैपट ठूलो श्वाँस फालेर बेहोस भए । अनि उपचार थालिएपछि मृत्यु भयो’ छिमेक मनिषले सुनाए ‘एक्कासी कसरी यस्तो भयो । उपचारमै कुनै लापरबाही गरिएको हुनुपर्छ’
डा.ठाकुरले पनि बालकलाई पिसावमा इन्फेक्सन भएको र उपचार पश्चात समान्य भइसकेपछि परिवारजनै आग्रहमा डिस्चार्ज गरेपछि अचानक मृत्यु भएको बताए ।
‘बालक आज बिहान खेलरहेका थिए । मोबाइल पनि चलाइरहेका थिए । बच्चाको आमाले भन्नु भयो मेरो बच्चा खेलिरहेको छ । अब डिस्चार्ज गरिदिनुस् । हामी कठमाडौं नै बस्छौं । काठमाडौं नै लिएर जान्छौं । मैले डिस्चार्ज गरिदिएँ’ डा. ठाकुर भन्छन् ‘अनि हामीले डिस्चार्ज गरिदियौं । डिस्चार्ज गरेपछि बाहिर जाँदा अचानक मृत्यु भयो । अचानक जे पनि हुन सक्छ’ ।
बिहीबार साँझ शवसहित धर्ना बसेका मृतक बालकका चारजना मामासहित ६ जनालाई नियन्त्रणमा लिएको छ । तोडफोड गरेको आरोपमा केही व्यक्तिलाई पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।मृतकका मामा सुनिलका अनुसार प्रहरी उल्टै हस्पिटलको बचावमा आफूहरुलाई त्यहाँबाट धपाउन षडयन्त्र गरी पक्राउ गरेको आरोप लगाएका छन् ।
उनले उपचारमा कुनै लापरबाही नभएको दावी गर्दै पहिलादेखी अन्य कुनै स्वास्थ्य समस्याको कारण बालकको मृत्यु हुन सक्ने तर्क गरे ।
फागुन २०७८ देखि डा. विजय राउतले बिना स्वीकृति संचालनमा रहेको यस हस्पिटलमा पटक पटक चरम लापरबाहीको घटना हुने गरेको छ ।








प्रतिक्रिया