जनकपुर : प्रादेशिक अस्पतालमा डाक्टर लापरबाहीले सुत्केरीको मृत्युपछि अवस्था तनावग्रस्त

न्यूज डेस्क     २०८० मंसिर ९, शनिबार १६:४२ बजे मा प्रकासित


जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा प्रादेशिक अस्पतालमा शल्यक्रिया मार्फत छोरा जन्माएकी एक सुत्केरीको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीको मठिहानी नगरपालिका ३ बर्दाहाका मोहम्मद हातिमकी श्रीमती २५ वर्षीया तजवुल खातुन छन् ।

परिवारजनले चिकित्सकले शल्यक्रियामा लापरबाही गर्दा मृत्यु भएको आरोप लगाएका छन् । अहिले हस्पिटलको अवस्था तनावग्रस्त रहेको छ । व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ ।

मृतकका भाई पर्ने मोहम्मद सकिर राइनका अनुसार शुक्रबार दिउँसो ३ बजेतिर सुत्केरी व्यथा लागेपछि जनकपुरको वैदेही हस्पिटलसहित अन्य निजीमा लगिएको थियो । तर कतै भर्ना नलिएपछि राति ८ बजे प्रादेशिक पुर्याएपछि चिकित्सकले शल्यक्रिया गरेका थिए ।
शल्यक्रिया मार्फत उनले छोरा जन्माएकी थिइन् । तजवुलको आज बिहान रक्तश्राव भएर मृत्यु भएको भाई पर्ने सकिर बताउँचन् ।

चिकित्सकले शल्यक्रियामा लापरबाही गर्दा मृत्यु भएको उनको दावी छ । उनले शल्यक्रिया पश्चात चिकित्सक फरार भएको आरोप लगाए ।

यता प्रादेशिक अस्पतालका निर्देशक डा. रामनरेश पण्डितले तजवुलको शल्यक्रिया र उपचारमा कुनै प्रकारको लापरबाही नभएको दावी गरे ।
‘उनलाई कुनै पनि प्राइभेट हस्पिटलले भर्ना नलिएपछि अन्तिम अवस्थामा प्रादेशिक अस्पतालमा ल्याएको थियो । बाहिर रेफर गर्ने अवस्था थिएन । हेल्थसिन्डोम (चम्की रोग) र जण्डिस रोगले उनी ग्रसित थिइन्’, वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ समेत रहेको डा.पण्डितले भने ‘सिकिस्त अन्तिम अवस्थामा रहेका बिरामीलाई हामीले तुरन्तै शल्यक्रिया गरेर हरसम्भव बचाउने प्रयास गर्यौ । बच्चा समान्य छन् । तर आज बिहान आमाको मृत्यु भयो’

यस्तो रोग भएको प्रसुति महिलालाई शरीरको जुनसुकै भागबाट रक्तश्राव भइ मृत्यु हुने सम्भावना प्रवल हुने उनको तर्क छ । वरिष्ठ प्रसुति रोग विशेषज्ञ समेत रहेका डा. पण्डिका अनुसार उनको शल्यक्रियामा अनुभवी प्रसुति रोग विशेषज्ञ डा. राजदेव महतोले गरेका थिए ।

प्रतिक्रिया





Top