रोकिएन नेपालमा सुन तस्करीको धन्दा

न्यूज डेस्क     २०८० मंसिर २३, शनिबार ०६:२९ बजे मा प्रकासित


काठमाडौं । प्रहरीले दुई किलोग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवाका २६ वर्षीय बिरु तामाङ, २१ वर्षीय सुनिल भुजेल, २८ वर्षीय ग्याल छिरिङ तामाङ रहेका छन् ।

 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार काठमाडौंको चन्द्रागिरी नगरपालिका– २ नागढुङ्गा चेकपोष्टमा रसुवाबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०२८ च २६९७ नम्बरको महिन्द्रा कम्पनीको स्कार्पियो गाडी नियन्त्रणमा लिई चेक जाँच गर्दा दुई किलोग्राम सुन बरामद भएको हो ।सो गाडीको गेयर बक्स एरियामा सुन जस्तो देखिने पहेलो रङ्गको धातुको विस्कुट आकारको दुई थान ढिक्का बरामद गरेको प्रहरीले जनाएको छ ।

उनीहरुमाथि अवैध तरिकाबाट सङ्गठित रुपमा भन्सार तथा राजस्व छलि सुनको कारोबार गरेको हुँदा सङ्गठित अपराध निवारण ऐन २०७० बमोजिमको कसुरमा म्याद थप गरी आवश्यक अनुसन्धान थालिएको छ ।उनीलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ । नेपालमा सुन तस्करीको घटना शृङ्खला रोकिएको छैन । तस्करीको अनुसन्धान र नियन्त्रणका लागि कयौँपटक विभिन्न समिति पनि बनेका छन् ।सुन तस्करी रोकथाम तथा नियन्त्रण हुनुपर्ने माग समेत उठ्ने गर्छ । बेलामौकामा प्रहरीले सुन समेत बरामद गर्दै आएको छ। तस्करीको धन्दा भने रोकिएको छैन । शुक्रबार राति मात्रै त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित दुईजना पक्राउ परेका छन् ।

प्रतिक्रिया





Top