विवाह पञ्चमी महोत्सव : जनकपुरमा माछा-मासु र मदिरा निषेध

शम्भु पण्डित     २०८० मंसिर २५, सोमबार १६:१८ बजे मा प्रकासित


जनकपुरधाम । रामसीता विवाह महोत्सवलाई मध्यनजर गरी स्थानीय प्रशासनले जनकपुरसहित सीमा क्षेत्रमा पशुपंक्षी काट्न, माछा/मासु बिक्रीवितरण तथा मदिरा निषेध गरेको छ।

विवाहोत्सवमा देश विदेशबाट लाखौं दर्शनार्थी भक्तजन आउने भएकोले विवाह पञ्चमी महामहोत्सव-२०८०/ ०९/०१ गतेको अवसरमा जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको ”मदिरा बिक्री वितरण तथा पशुपंक्षी काट्न, माछा/मासु बिक्रीवितरण एवम् सेवनमा निषेध” गरिएको सूचना सवैमा जानकारीको लागि अनुरोध गरिएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारीले रामजानकी विवाहोत्सवलाई मध्यनजर गरी २८ मंसिरदेखि पुस ०१ गतेसम्म जनकपुरधाम प्रवेश गर्ने मुख्यद्वार/सीमा एवं जनकपुरधामस्थि परिक्रमा सडक र परिक्रमा क्षेत्रभित्र माछा–मासु तथा मदिरा बिक्रि वितरण, सेवन र कारोबारमा रोक लगाउने निर्णय भएको जानकारी दिए।

निर्णय कार्यान्वयन गर्न सरोकारवाला व्यवसायी, बुद्धिजीवी एवम् सर्वसधारणलाई आग्रह गर्दै उल्लंघन गरेका खण्डमा प्रचलित कानुनअनुसार कारबाही हुने जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ।

यसका साथै विवाहोत्सवलाई ध्यानमा राख्दै घरआँगन, सडक, पेटी, नालालगायतका स्थान सफा राख्न व्यवसायी, नागरिक समाज, सरसफाई अभियान्ता सबैलाई जिल्ला प्रशासन कार्यालय धनुषाले आग्रह गरेको छ।

पुस ०१ गते मनाइने रामजानकी विवाहोत्सवमा सहभागी हुन  भारतको अयोध्या, वृन्दावनलगायतका विभित्र स्थानबाट जन्तीको रुपमा साधुसन्त आउने कार्यक्रम रहेको छ।

प्रतिक्रिया





Top