जनकपुरधाम । आम जनता पार्टीका अध्यक्ष तथा सांसद् प्रभु साहसहित टोलीले मधेशको राजधानी जनकपुरधाममा निर्माणाधीन शहरी पूर्वाधार आयोजनाहरूको स्थलगत अनुगमन गरेको छ ।
सोमबार अध्यक्ष साहसहित मधेश प्रदेशका जनप्रतिनिधिहरूको टोलीले शहरी मन्त्रालयबाट निर्माण भइरहेका जनकपुरधाम बसपार्क, दूधमति कोरिडोर, सरस्वती माध्यमिक विद्यालयको भवनलगायतका आयोजनाहरूको अनुगमन गरेको हो । अनुगमनपछि अध्यक्ष साहले यी आयोजनाहरूको कार्य प्रगति समग्रमा सन्तोषजनक रहेको प्रतिक्रिया दिएका छन् ।
उनले भने, ‘मैले सुरू गराएको एकीकृत शहरी आयोजनाअन्तर्गत झण्डै ४० कि.मि. सड़क कालोपत्रे, ८० कि.मि. नाला, विभिन्न पोखरी सौन्दर्यकरण तथा मठ मन्दिरलगायतका पूर्वाधारको कामहरू सम्पन्न भएको हेर्दा सुखद अनुभूति भयो ।’
उनले आयोजनाको भुक्तानी समयमा नहुँदा निर्माण कार्य प्रभावित हुने गरेकोप्रति असन्तुष्टिसमेत जनाएका छन् ।
अध्यक्ष साहले भने, ‘आयोजनाहरूको समग्र भागको ठेक्का एकैपटक नहुँदा निर्माणाधीन आयोजनाहरूको भविष्य अन्यौल देखियो । जस्तै बसपार्कको समग्र ठेक्का ७० करोडको हुनुपर्नेमा हाल जम्मा २० करोडको मात्र ठेक्का भएको छ । त्यस्तै दुधमति कोरिडोरको समग्र ठेक्का १ अर्बको हुनुपर्नेमा हाल जम्मा २० करोडको मात्र ठेक्का भई निर्माण भइरहेकोछ ।’
उनले समयमा आयोजनाहरू सम्पन्न गराउनेतर्फ सरकारको गम्भीर ध्यान जान जरुरी रहेको पनि बताए । अनुगमन तथा निरीक्षण कार्यमा मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल, नेकपा (माओवादी केन्द्र) का नेता भरत साह तथा संघीय आयोजना कार्यान्वयन इकाई धनुषाका प्रमुख प्रदीप खनाललगायतको उपस्थिति थियो ।
प्रतिक्रिया