जनकपुर : विवाहपञ्चमी महोत्सव सुरु

मधेशपाटी अनलाइन     २०८० मंसिर २७, बुधबार ०६:३० बजे मा प्रकासित


जनकपुरधाम । मिथिलाञ्चलको ठूलो उत्सव विवाहपञ्चमी महोत्सव आजबाट सुरु भएको छ ।

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन नगर दर्शन विधि गरिएको हो ।

भगवान राम र लक्ष्मण पहिलो पटक प्राचिन मिथिलाको राजधानी जनकपुरधामको भ्रमण गरेको स्मरणमा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन नगरदर्शन गर्ने गरिन्छ ।

जनकपुरधाम क्षेत्रमा मंगलवार बिहानैदेखि श्रद्धालु भक्तजनहरुको चहलपहल देखिएको थियो । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत नगरदर्शनलाई लिएर जानकी मन्दिरमा पूजा अराधनाका लागि श्रद्धालु भक्तजनहरु पुगेका थिए ।

नगरदर्शन विधिमा राम लक्ष्मणको प्रतिकको रुपमा रहेको दुई बालकलाई नगरदर्शन गराइएको थियो । यसका साथै राम लक्ष्मणलाई मिथिला भ्रमण गराएका ऋषि विश्वामित्रको प्रतिक पात्र समेत थिए । नगरदर्शनको अवसरमा मंगलगान समेत गाइएको थियो ।

त्रेता युगमा समेत भगवान राम लक्ष्मण जनकपुरधाम आएपछि यस्तै स्वागत गान गाइएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताउनुभयो ।

नगर दर्शन विधिका लागि जनकपुरधाम स्थित जानकी मन्दिरकै प्रांगणमा कृत्रिम बजार बनाइएको थियो । चिया, पान, मखान, खेलौना, मिठाई, मिथिला चित्रकला, कपडा, सिन्दुर, आदिका पसलहरु कृत्रिम रुपमा निर्माण गरिएका थिए ।

राम लक्ष्मणको प्रतिकको रुपमा रहेका दुई किशोर बालकलाई रातो कार्पेट ओछ्याएर कृत्रिम बजार समेत घुमाइएको थियो । राम लक्ष्मण स्वयं जनकपुरधामको नगरदर्शन गर्दा पूरै मिथिलाको वातावरण उल्लासमय बनेको थियो जानकी मन्दिरका उत्तरराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताउनुभयो । सोही दर्शाउनका लागि जानकी मन्दिर परिसरमै कृत्रिम बजार लगाएर नगरदर्शन विधि गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया





Top