थमन बिक हत्या प्रकरण : लोसपा प्रदेश संसदीय दलका नेतासहित ७ जनालाई जन्मकैद

न्यूज डेस्क     २०८० मंसिर २८, बिहीबार २०:३६ बजे मा प्रकासित


जनकपुरधाम । थमन बिक हत्या प्रकरणमा लोसपाका मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मालाई जन्मकैदको फैसला भएको छ ।उनलाई जिल्ला अदालत महोत्तरीले जन्मकैदको सजाय सुनाएको हो ।मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमनबहादुर बिश्वकर्माको हत्याको अभियोग लागेका शर्मा यसअघि जिल्ला अदालत महोत्तरीको आदेशमा साधारण तारिखमा छुटेका थिए ।प्रहरीको फरार सूचीमा रहेका बेला राष्ट्रिय जनता पार्टीबाट प्रदेशसभा चुनाव जितेका उनी प्रदेश २ मा सामाजिक विकास राज्यमन्त्री समेत बनेका थिए ।

जिल्ला अदालत महोत्तरीकी श्रेष्तेदार नुतन झाले दिएको जानकारी अनुसार न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले शर्मासहित, संजयकुमार साह, प्रदीप साह माझी, मोहन ठाकुर, धर्मेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेलाई जन्मकैदको फैसला सुनाएको हो ।जन्मकैदको सजाय पाउने रामशंकर मिश्र जलेश्वर नगरपालिकाका पूर्व मेयर हुन् । यी दुईसहित चारजना तारेखमा छुटेका थिए ।
फरार रहेका प्रतिवादीहरुको हकमा मुल्तवी गरिएको छ । १९ जना फरार छन् । यो मुद्दाका रमेशप्रसाद साह, सतेन्द्र चौधरी, चन्देश्वर साह, राजु चौधरी, नरेश साह, रामराजा साह, गोलु साह, हरिओमकुमार भगत, रविन्द्र राम चमार, रञ्जित साह, विकी साह, फुले यादव, रोहित कुमार शर्मा, लालबाबु बिन, सम्भु साह, अनित ठाकुर, अनिल ठाकुर, देवेन्द्र यादव र कौशल कुमार यादव फरार छन् ।२०७२ भदौ २५ गते मधेस आन्दोलनका क्रममा आन्दोलनकारीको तर्फबाट घाइते भएका सशस्त्र प्रहरीका असई विकलाई उपचारको लागि जलेश्वरबाट जनकपुर लग्दै गर्दा एम्बुलेन्सबाट थुतेर कुटपिट गरी हत्या गरेको भन्दै २८ जनामाथि ज्यान मुद्दाको अभियोग लागेको थियो ।

प्रतिक्रिया





Top