जनकपुरधाम । धनुषाको कतिपय वस्तीमा शरीर छोप्न लुगाफाटा र चिसोबाट बच्नलाई जोगिनका लागि कम्बल, सिरकलगायत आवश्यक लुगाफाटा नहुँदा मुसहर समुदाय विच्चलीमा परेका छन् । शिशिर ऋतुको आगमनसँगै यहाँ चिसो बढ्ने क्रम जारी छ । चिसोयाममा शरीर छोप्नलाई लुगाफाटाको आवश्यकता हुन्छ । शरीर छोप्नका लागि शिरक, डस्ना र ओच्छ्यान विछ्यानको प्रबन्धपनि नभएकाले उनीहरु विचल्लीमा परेका छन् ।
निर्वाचनताका प्रायः नेताहरु भोट रिझाउन मतदातालाई बाँच्नका लागि चाहिने आवश्यकताहरुमाथि पनि राजनीति गर्दा अहिले गरिब, असहाय, निमुखा तथा सिमान्तकृत वर्गहरु विच्चलीमा परेका हुन् । उम्मेदवारहरुले आफ्नो रोटी सेक्ने नाममा भोट रिझाउनलाई विभिन्न दाउपेच लगाउँदै गरिब, दलित, पिछडिएका समुदाय तथा सिमान्तकृत वर्गका बस्तीमा पुगेर आश्वासन दिएपनि पूरा नगर्दा उनीहरु विचल्ली अवस्थाबाट गुज्रिनु परेको बताउँछन् ।
नेताहरुले गरिब, दलित तथा सिमान्तकृत बस्तीमा रहेको झुपडीमा गएर गास, बास, कपास तथा रोजगार दिने आश्वासन दिएपनि निर्वाचित भएपछि नेताहरुले माग पूरा नगदाए अन्योलमा परेका छन् । मुसहर बस्तीमा निर्वाचनताका नेताहरुको प्रतिवद्धताप्रति तितो अनुभव रहेको भन्दै जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० बस्ने सुबोध माझीले भने, ‘ नेताहरु प्रत्येक निवर्चानमा आउँछन्, लोभ दिन्छन्, मत लिन्छन्, तर वाचा पूरा नगर्दा घरबारविहीनताको अवस्था छ ।’
जनकपुरधाम वडा नम्बर २० स्थित बसहीयाको मुसहर बस्तीका स्थानीय माझीले जाडो बढ्दा आगो ताप्नलाई घुर गरेर रात बिताउने गरेपनि बालबच्चालाई केही थान नयाँ लुगा किन्नका लागि केही रकमको जोहो गर्न दिनभर काम गरी जोगाएर राखिएको रकमले किन्ने ध्येय रहेको बताए । उनले निर्वाचनको बेला नेताहरु आउनेजाने गरेपनि अहिले भने हामी कुन अवस्थाबाट गुज्रिरहेका छौँ, त्यसप्रति वास्ता नगर्दा दुःख लागेको गुनासोसमेत गरे । हामीलाई काम दिएमा हामी सबै आफ् नो घरपरिवार र बालबच्चालाई पढाउन लेखाउन पनि सक्नेथ्यो भन्ने उनको भनाइ छ ।
विगतमा चुनावका बेला नेताहरुले झुपडी हटाएर घर बनाइदिने भनेपनि मधेश प्रदेश सरकारले बनाउन लागेको घर अहिलेसम्म पनि अधुरै छ । आफ्नो नाममा जग्गाजमिन नहुँदाको समस्या एकातर्फ रहेपनि मौसम पिच्छै समस्या भने आइ नै रहेको माझीले भने । घरबारविहीन हुँदा वर्षातयाममा ओँत लाग्ने समस्या, जाडोयाममा शरीर छोप्न समस्या हुने गरे पनि जसोतसो दिन बिताउँदै आएका मुसहर वस्तीमा मुसहरहरु कष्टप्रदायक जीवन व्यतीत गर्न बाध्य देखिएका छन् । त्यस्तै स्थानीय सेवक सदाले मौसम पिच्छै हामीलाई हरेक वर्ष वर्षात, जाडो, हावाहुरीलगायत विभिन्न समस्या र चुनौतीलाई झेलेर भए पनि भगवान भरोसे जिउन बाध्य रहेको बताउँछन् । उनले हाम्रो घर, बालबालिकालाई शिक्षादीक्षालगायतका खाद्यान्न तथा रोजगारीको आवश्यकता रहे पनि हामीलाई समाजले पनि वास्ता नगरेको दुःखेसो पोख्छन् । उनले भने, ‘हामी धेरै गरिब छौँ, वर्षातको बेला, जाडोको बेला, हावाहुरी आएको बेला निकै नै कष्ट गर्दै घरमा ओत लागेर बस्नु पर्ने बाध्यता छ ।’ निर्वाचनताका नेताहरु भोट माग्न आउँदा विभिन्न वाचा गरे पनि यहाँ न सडक बन्यो, न त घर बन्यो, तर अहिले हामी विच्चलीमा परेका छौँ ।
नेताहरुले घर आँगनमै आएर लोभ लालच, आश्वासन दिने गरेको स्मरण गर्दै सदाले भने, ‘मधेश प्रदेश सरकारले विगतमा घर बनाइदिन्छु भनेर भन्यो, तर घर पनि बनाइ दिएनन्, बरु घरबारविहीन बनाएर विच्चली बनायो ।’ यता धनुषा क्षेत्र नम्बर ३ की प्रतिनिधिसभा सदस्य जुली कुमारी महतोले जनताको समस्याप्रति गम्भीर रहेको बताइन् । उनले मुलुकमा तीन तहको सरकार रहेको र प्रत्यक्षरुपमा अनुभूति हुनेगरी स्थानीय तहको सरकार रहेको बताउँदै जनप्रतिनिधिले स्थानीय नागरिकको समस्याहरु तत्काल पूरा गर्न अग्रसर हुनुपर्ने र यसका लागि आफूले पहल गर्ने भनिन् ।
नेताहरुले लोकतन्त्रको अनुभूति गरे पनि जनताले भने लोकतन्त्रको उपभोगसमेत गर्न नपाउँदा गरिब, असहाय, निमुखा जनता झनै पीडित हुनु दुःखद रहेकाले आफुले फेरि पनि समस्यामा रहेका पीडित जनताको आवाजलाई उठाउने र समस्या समाधानका लागि पहलकदमी लिने बताइन् ।
मधेश प्रदेश सरकारले मुसहर बस्तीलाई केन्द्रित गर्दै झुपडीको ठाउँमा पक्की घर बनाइदिने भन्दै झुपडी भत्काएर पक्की घर बनाउने कार्यलाई सुरु गरेको थियो । तर पक्की घर निर्माणका लागि कुर्सी खडा गर्दै भित्ता उठाउने कार्य गरेको थियो । तर सो घरको काम सुरु भएको तीनवर्ष वित्दापनि घर भने बन्न सकेको छैन ।
प्रतिक्रिया