जनकपुरधाम । नेपाली कांग्रेसको प्रथम मधेश प्रदेश सम्मेलन बिहीबार जनकपुरधाममा सुरु भएको छ । शुक्रबारसम्म चल्ने सम्मेलनमा आठ वटै जिल्लाका प्रतिनिधिहरू सहभागी भएका छन् । तर, वरीयताको विषयलाई लिएर नेपाली कांग्रेस मधेश प्रदेशको सम्मेलनमा असन्तुष्टि देखिएको छ ।
तिरहुतीयागाछी मैदानमा आयोजित सम्मेलनमा मर्यादाक्रम मिचेको भन्दै कांग्रेसका पूर्वउपसभापति एवं प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले मञ्चमै गएनन् । निधिलाई आशन ग्रहण गर्न उद्घोषक प्रदेश महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठले पटक–पटक आग्रह गरे पनि उनी दर्शक दिर्घामै बसिरहे ।
यसै सम्मेलनमा वरिष्ठ नेता शेखर कोइरालालाई विशिष्ट अतिथिमा नबोलाएपछि उनी आउँदै आएनन् । सभापति शेरबहादुर देउवाले सम्मेलनको उद्घाटन गरेका थिए ।
सम्मेलनमा उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्रीहरू सहभागी छन् । मधेश प्रदेशका आठ जिल्लाका आठ सय २५ जना प्रतिनिधिको सहभागिता रहेको बताइएको छ । सम्मेलनका क्रममा प्रदेश समितिको राजनीतिक, साङ्गठनिक, आर्थिक प्रतिवेदनमाथि छलफल गरिने प्रदेश सभापति कृष्णप्रसाद यादवले जानकारी दिएका छन् ।








प्रतिक्रिया