शिक्षक पनि मिटरब्याजी : जो तलब सरकारी खान्छन्, काम निजीमा गर्छन्

न्यूज डेस्क     २०८० पुष ६, शुक्रबार ०९:०६ बजे मा प्रकासित


सिरहा । शिक्षकको काम पढाउने मात्र हुँदैन । समाजलाई सही दिशामा डोर्‍याउने दायित्व पनि शिक्षकको हुन्छ । तर, कतिपय शिक्षकहरू आफ्नो विवेक समाज बनाउनका लागि नभई दोहनका लागि प्रयोग गरिरहेका छन् ।

यसको उदाहरण हुन्, सिरहा मिर्चैया नगरपालिका ७ का बासिन्दा सुरेन्द्र यादव । उनी कल्याणपुर नगरपालिका-११ मा अवस्थित रामदुलारी उमाविमा कार्यरत शिक्षक हुन् ।

तर, शिक्षक भएपनि मधेशलाई खोक्रो बनाएको र अहिले चर्चामा रहेको अवैध मिटरब्याज धन्दा उनीसमेत चलाइरहेका छन् । उनीबाट सर्वसाधारणको त के कुरा, जनप्रतिनिधि नै पीडित छन् ।

करिब ४ वर्षअघि कल्याणपुर ४ का तत्कालीन वडाध्यक्ष दिलीप कुमार यादवले उनीसँग २ लाख ५० हजार ऋण लिए । उनी त्यसबापत १ लाख ८० हजार फिर्ता पनि गरिसकेका छन् ।

आर्थिक रूपले समस्यामा परेका दिलीपले उनलाई कानुन नै आइसकेको अवस्थामा मिलाएर लिइदिन पटकपटक आग्रह गरिरहेका छन् । तर, उनी सयकडाको अढाई रूपैयाँको दरले ब्याज मागिरहेका छन् । शिक्षक यादवबाट पीडित बनेकाहरू अझै भएपनि डरले खुलेका छैनन् ।

आर्थिक शोषणको यो धन्दामा शिक्षकहरू पनि संलग्न रहेकोे यिनी त उदाहरण पात्र मात्र हुन् । शिक्षकका भेषमा यस्तै थुप्रा शोषकहरू छन्, जो समाजलाई दिनुको साटो समाजबाट लिइरहेका छन्, समाजलाई चुसिरहेका छन् ।

यतिमात्रै होइन, सरकारी शिक्षक भएपनि उनी निजी विद्यालयहरूमा बढी समय बिताउने गरेका छन् । नामका लागि सरकारी विद्यालयमा हाजिर हुने, त्यसपछि उनी निजीतिर लाग्ने गरेको नाम नबताउने शर्तमा एक विद्यार्थीले बताए ।

उनी मिर्चैयास्थित टाइम्स स्कुल र कल्याणपुरस्थित ब्राइट फ्युचरमा विद्यालयमा पनि काम गरिरहेका छन् । उनको विषयमा सबैलाई थाहा छ । तर, आफूलाई सुरक्षित राख्न उनले स्थानीय सरकारको सत्तामा जो आउँछन्, उसैको भक्तीमा लाग्ने गरेको स्थानीय बताउँछन् ।

मिर्चैयाका चिया पसलहरूमा बसेर नैतिकता, सिद्धान्त र आदर्शका गफ दिने उनको यथार्थ सरकारी तलब खाएर राज्य र सामुदायिक विद्यालयका विद्यार्थीसँग उनले गरिरहेको बेइमानी र आर्थिक शोषणको मिटरब्याज धन्दा चलाएर समाजसँग उनले गरिरहेको अपराधले प्रष्ट पार्छ ।

प्रतिक्रिया





Top