धनुषाधाम मकर मेलाको १० लाख ५५ हजारमा ठेक्का

मधेशपाटी अनलाइन     २०८० पुष १६, सोमबार ०३:१४ बजे मा प्रकासित


जनकपुरधाम । मधेस प्रदेश धनुषाको धार्मिक एवम् पर्यटकीय स्थलको रुपमा परिचित धनुषाधाममा परापूर्वकालदेखि लाग्दै आएको मकर मेलाको ठेक्का लागेको छ ।

धनुषाधाम नगरपालिका वडा नम्बर ३ स्थित रहेको धनुष जनता माविले आव्हान गरेको टेन्डर (बोलपत्र) को लागि १८ जना ठेक्केदारहरुले उक्त ठेक्का दाबीको लागि कागजातहरु पेश गरेको भएपनि प्रक्रियागत र बोलपत्रको नियमानुसार १० लाख ५५ हजार पाच सयमा रवीन्द्र यादवले उक्त ठेक्का पाएका हुन् ।

 

माघको पहिलो आईतबारदेखि एक महिनासम्म प्रत्येक आईतबार लाग्ने मकर मेला भर्नको लागि नेपाल र भारतको विभिन्न ठाउँबाट श्रद्धालु भक्तहरु आउने गरेको छ । धनुषाधाममा अवस्थित धनुष मन्दिरमा शरिरमा हुने मुसो रोग निवारणको लागि भाकल गर्ने प्रचलन छ ।

मुसो एक प्रकारको चर्मरोग पनि हो । यी रोग भएका श्रद्धालुले धनुषाधाममा रहेको धनुष मन्दिरमा भण्टाभार ( बैगनको भार) चढाउने भाकल गरेपछि रोग निको हुने मान्यता पौराणिकालदेखि नै चलिआएको छ । मेलामा लाखौंको सँख्यामा भाकल तथा मेला भर्नको लागि आउने गर्छन् ।

धनुषाधाममा प्रत्येक वर्ष लाग्ने मकर मेला तेजपातको लागि प्रसिद्ध मानिन्छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिनोद कुमार यादव,वडा न.३ का वडा अध्यक्ष जयनारायण यादव,वडा न.२ वडा अध्यक्ष लक्ष्मी महतो,धनुषाधाम उद्योग वाणिज्य संघका अध्यक्ष किशोरी ठाकुर,शिक्षक,विद्यार्थी र राजनीतिककर्मी सहितको उपस्थितिमा मेला ठेक्का सम्पन्न भएको छ ।

प्रतिक्रिया





Top