गौर । रौतहटको बंकुल र गौर नाकाबाट सशस्त्र प्रहरीको सेटिङमा भन्सारछली गरी सामान भित्रने गरेको छ । सशस्त्रको बीओपी बंकुलका इन्चार्ज इन्स्पेक्टर नरेन्द्र पाटामगर र गौर गुल्मका डीएसपी अमर लामासँग सेटिङ गरी आत्माराम पटेलले ल्याएको ६० लाख बराबरको भन्सारछलीका सामान सशस्त्र प्रहरी मधेश प्रदेश कार्यालय छिन्नमस्ता बाहिनी र सशस्त्रको ११ नम्बर गण हजमनिया रौतहटको टोलीले बरामद गरेको छ ।
बंकुल र हजमनियाबाट निर्वाध भन्सारछलीका सामान आउने गरेको गुनासोपछि सशस्त्रको मधेश प्रदेशका डीआईजी दीपेन्द्र शाहले अनुगमन टोली खटाएका थिए । उनले ११ नम्बर गणका गणपति माधव रेग्मीलाई प्रदेश कार्यालयबाट खटिएको टोलीसहित बंकुल र गौर नाकामा खटाउन निर्देशन दिए । प्रदेश र गणबाट खटिएको संयुक्त टोलीले २ हप्ताअघि बंकुलबाट भन्सारछली गरी ल्याइएका ६० लाखबराबरका लत्ताकपडा लगायतका सामान बरामद गरेको थियो । स्रोतका अनुसार तस्करीका सामान बरामदपछि सशस्त्र प्रहरीको मधेश प्रदेश कार्यालयले बीओपी बंकुलका इन्चार्ज इन्स्पेक्टर नरेन्द्र पाटामगर र गौर गुल्मका डीएसपी अमर लामालाई बाहिनीमा तानेर स्पष्टीकरण सोधेको थियो ।
प्रदेश कार्यालय बर्दिबासमा तानिएका डीएसपी लामा र इन्स्पेक्टर लामाले सशस्त्र प्रहरी मुख्यालयका सीमा विभागका डीआईजी गणेश ठाडामगरमार्फत् लबिङ गरी पुनः २०८० पुस १९ मा तततत् स्थानमै फर्किएका छन् ।
बीओपी बंकुलका इन्स्पेक्टर नरेन्द्र पाटामगर डीआईजी ठाडामगरका आफन्त पर्दछन् । लामा पनि ठाडामगरकै जोडमा गौर गुल्ममा इन्चार्ज भएका हुन् । भन्सारछलीका सामान भित्र्याउने आत्माराम पटेल पूर्व सहस्त्र प्रहरीका हवल्दार हुन् । उनी ठाडामगर मधेश प्रदेशको १८ महिना डीआईजी हुँदा मधेशका ८ वटै जिल्लामा घुमुवा कमाण्डरका रुपमा खटाइएका थिए । पटेलको नेतृत्वमा हवल्दार इमाम आलम ठकुराई, राजीव यादव, सन्तोष यादव, नन्दलाल यादवलाई खटाएका थिए । उनीहरुको काम तस्करसँग सेटिङ गरी डीआईजीलाई मासिक कबोल गरेको अंकमा आर्थिक स्रोत जुटाउने थियो । आत्माराम पटेल र सुनिल यादवले त भारतबाट हतियार समेत नेपालमा तस्करी गरेको भेटिएपछि पक्राउ नै परेका थिए ।
२०७९ वैशाख २३ गते भारतको पूर्वी चम्पारणको लौखानका पप्पुकुमार यादव र अखिलेशकुमार सिंहलाई सिम्रौनगढ नगरपालिका–१० बाट बी.आर.०१ सी १३६१ नम्बरको मोटरसाइकलमा सवार रहेको अवस्थामा दुई थान पेस्तोल र चार राउन्ड गोलीसहित पक्राउ गरेको थियो । पक्राउ परेका भारतीय नागरिकलाई हतियार नेपालमा तस्करी गर्न सहयोग पुर्याएको देखिएपछि सशस्त्र प्रहरीका बरिष्ठ हवल्दार आत्माराम पटेलसहित वरिष्ठ हवलदार अशोक साह सोनार, सहायक हवलदार रत्नसागर झा र जवान सुनिलकुमार यादवविरुद्ध पक्राउ पूर्जी नै जारी भएको थियो ।
पटेल तत्कालीन छिन्नमस्ता बाहिनीका डीआईजी गणेश ठाडामगरले खटाएका घुमुवा कमाण्डर थिए । राजु अर्याल आईजीपी भएपछि घुमुवा राख्न नपाउने परिपत्रपछि १८ नम्बर गणमा सरुवा भएका आत्माराम पटेलले राजीनामा दिएर ब्यापारमा लागेका थिए । सशस्त्रमा हुँदा तस्करीको नेटवर्क थाहा पाएका उनले डीआईजी ठाडामगरका निकट अधिकृत भएका बंकुल र गौरबाट भन्सारछलीका सामान नेपालमा ल्याउने गरेका छन् ।
यसैबीच, सशस्त्र प्रहरी बलमा सेवा प्रवेश गरेको १६ बर्षसम्म मधेश प्रदेशमै घुमुवा बसेर तस्करीको संजाल चलाएर अकूत सम्पत्ति आर्जन गरेका सहायक हवल्दार इमाम मियाँ ठकुराईलाई डीआईजी ठाडामगरले एसपी भानुभक्त लम्सालको नेतृत्वमा अनुगमनमा खटाएको बिषय चर्चामा छ ।
डेढ बर्षअघि घुमुवा अप्रेसनका क्रममा श्रीअन्तु गुल्म इलाममा सरुवा भएका इमाम सशस्त्र प्रहरी अस्पतालमा बिरामी भएको बहानामा काजमा कार्यरत छन् । अति स्वस्थ भए पनि दरबन्दीमा जाुपर्छ भनेर नक्कली बिरामी भएर अस्पतालमा काजमा मिलाएका इमामलाई डीआईजी ठाडामगरले अनुगमन टोलीमा राखेका छन् । साभार नेपाल फेसमा छ ।
भन्सारछली नियन्त्रणका लागि अनुगमन टोलीमा राखिएका इमामले पर्सामा तस्करसँग सेटिङ गर्न ब्यस्त रहेको स्रोतले बताएको छ । इमाम सरुवा भएको ठाउँमा हाजिर हुन नगई नक्कली बिरामी बनेर अस्पतालमा काज मिलाएका छन् । र,आजका मितिसम्म पनि उनी पर्सामै तस्करसँग कनेक्सन मिलाउन तल्लीन छन् ।
प्रतिक्रिया